प्रदेश सरकार अपाङ्गता अधिकार सुरक्षामा पूर्ण प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार गम्भीर र प्रतिबद्ध रहेको बताएका छन्।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रादेशिक संरचनामा एकीकृत, सहज र प्रभावकारी सेवा प्रवाहका लागि ‘अपाङ्गता अधिकारसम्बन्धी प्रादेशिक ऐन’ निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
सन् १९९२ देखि प्रत्येक डिसेम्बर ३ मा मनाइँदै आएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस यस वर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्दन, सामाजिक विकासको संवर्द्धन’ नारामा केन्द्रित छ ।
यस प्रसङ्गमा मुख्यमन्त्री आचार्यले नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई मर्यादित जीवन, सार्वजनिक सेवामा समान पहुँच र आत्मसम्मानको हक प्रदान गरेको उल्लेख गर्दै, प्रदेश सरकारले यसलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर पहल गरिरहेको बताए ।
उनका अनुसार प्रदेशभर अपाङ्गमैत्री पूर्वाधार निर्माण, अपाङ्गता समन्वय समिति गठन, तथा सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न संरचनागत सुधारलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
पुराना भवन तथा संरचनामा आवश्यक परिमार्जन थालिएको र नयाँ निर्माणपूर्खैबाट पूर्ण रूपमा अपाङ्गमैत्री मापदण्डअनुसार गरिने पनि उनले स्पष्ट गरे ।
शिक्षा, स्वास्थ्य, रोजगारीलगायत राज्यले प्रदान गर्ने सेवा–सुविधामा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच सुनिश्चित गर्न कानुनी आधार बलियो बनाइने मुख्यमन्त्रीको भनाइ छ ।
नीति, योजना र निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता बढाउने दिशामा पनि सरकार अघि बढिरहेको उनले उल्लेख गरे।
दिवसका अवसरमा मुख्यमन्त्री आचार्यले अपाङ्गता अधिकार प्रवर्द्धन अभियानमा लागेकाहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दै दिवसको सफलताको शुभकामना दिएका छन् ।








