राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ हजार जनाको सिकलसेल एनिमिया परीक्षण हुँदै
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिकलसेल एनिमिया परीक्षणका लागि आफ्नै मेसिन सञ्चालनमा आएपछि पहिलो पटक ठूलो संख्यामा ५ हजार जनाको व्यापक जाँच अभियान सुरु गर्न लागेको छ । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालका अनुसार यो विशेष अभियान शनिबारदेखि औपचारिक रूपमा सुरु हुनेछ ।
प्रतिष्ठानले हालसम्म करिब ३१५ जनामा सिकलसेल एनिमिया पुष्टि भइसकेको छ। तीमध्ये १ वर्षदेखि ६५ वर्ष उमेर समूहका बिरामी छन् । “एकै परिवारका चार सदस्यसम्ममा पनि सिकलसेल देखिन्छ, यो अत्यन्त चिन्ताजनक विषय हो,” प्रा. लम्सालले बताए ।
थारु समुदायमा बढी जोखिम
सिकलसेल एनिमिया थारु समुदायमा बढी देखापर्ने रोग मानिन्छ । लम्सालका अनुसार दाङका योगी र दलित समुदायमा पनि यसको संक्रमण फेला परेको छ । विभिन्न अनुसन्धानहरूले प्लाज्मोडियम फ्याल्सिपेरम मलेरिया बढी हुने क्षेत्रमा सिकलसेल बढी देखिने पुष्टि गरिसकेका छन् ।
अब दाङमै परीक्षण सुविधा
अस्पतालका निमित्त निर्देशक प्रा.डा. जनार्दन पन्थिले दाङका सबै १० वटै स्थानीय तहका जनप्रतिनिधिलाई सहभागी गराई प्रतिष्ठानमा नियमित सिकलसेल परीक्षण सेवा सुरु हुने जानकारी गराइएको बताए ।
यसअघि सिकलसेल जाँचका लागि बिरामीलाई जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो । “अब भने प्रतिष्ठानमै परीक्षण उपलब्ध भएपछि उपचारका लागि समय, खर्च र जोखिम सबै घट्नेछ,” पन्थीले भने ।
प्रा. लम्सालका अनुसार ५ हजार जनाको परीक्षणले दाङ र आसपास क्षेत्रको वास्तविक स्वास्थ्य अवस्थाको डेटा तयार गर्न मद्दत गर्नेछ । “सिकलसेल रोकथाम र नियन्त्रणका लागि सरकारी नीतिनिर्माणमा वैज्ञानिक आधार तयार गर्न यो महत्त्वपूर्ण कदम हो,” उनले स्पष्ट पारे।
प्रस्तावित यो अभियानले दाङलाई सिकलसेल अध्ययनको प्रमुख क्षेत्रका रूपमा स्थापित गर्ने तथा आगामी दिनमा शोध, उपचार र रोकथामका कार्यक्रमलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।








