२१ मंसिर २०८२, आइतबार

घरबाटै सुरु भएको जैविक क्रान्ति : राप्ती गाउँपालिका उपाध्यक्षको प्रेरक कृषि यात्रा

राजनीतिक व्यस्तताबीच पनि घरमै जैविक मल उत्पादन गरी उपाध्यक्ष चौधरीले देखाइन्-गाउँ विकासको सार व्यवहार र श्रममै हुन्छ
प्रकाशित मिति :  7 December, 2025 3:32 pm


तुलबहादुर कवँर मगर,
दाङ (देउखुरी) ।
दाङको राप्ती गाउँपालिकामा पछिल्ला महिनाहरूमा एउटा असामान्य तर अत्यन्तै प्रेरक अभ्यासले सबैको ध्यान खिचिरहेको छ-उपाध्यक्ष कमलापति चौधरीको घरमै भइरहेको भर्मी कम्पोस्ट (गड्यौला) मल उत्पादन ।

जनप्रतिनिधिको हैसियतमा दिनभर बैठक, छलफल, कार्यक्रम अनि योजना अनुगमनमा व्यस्त रहने चौधरी बिहान-बेलुका थोरै फुर्सद छुट्याएर घरको आँगनमै मल उत्पादनको काममा जुटिरहँदा धेरैका लागि उदाहरण बनेकी छिन् ।

व्यस्तता बीचको श्रम : ‘कामसँग लगाव भए समय बाधा होइन’

गत जेठदेखि सुरु भएको यो अभियान अहिले गाउँमै जैविक कृषि प्रवर्द्धनको बलियो आधार बन्दै गएको छ । उनका १७ वटा भैंसीबाट निस्कने गोबरको व्यवस्थित उपयोग गर्दै सुरु गरिएको काम सुरुमा आफ्नै खेतबारीका लागि मात्रै थियो तर केही महिनामै उत्पादन बढेपछि अहिले स्थानीय किसानलाई समेत बेच्न थालिएको छ ।

प्रतिकेजी २० रुपैयाँ दरले बेचिने मलबाट हालसम्म करिब १६–१७ हजार रुपैयाँ आम्दानी भइसकेको छ । ६४ केजी गड्यौला ल्याएर थालिएको सानो प्रयास अहिले विस्तार हुने निश्चिततासहित व्यावसायिक मोडतर्फ उन्मुख छ ।

उपाध्यक्ष चौधरी भन्छिन्, “पहिलो चरणमै राम्रो नतिजा आएपछि अब यसलाई अझै ठूलो रुपमा अघि बढाउने योजना बनाएको छु ।” उनले हालसम्म कुनै निकायबाट अनुदान नलिएको उल्लेख गर्दै यसलाई शुद्ध श्रम र इच्छाशक्तिबाट अघि बढेको परियोजनाका रुपमा अर्थ्याइन् ।

रासायनिक मलको असरले देखिएको मोड

उपाध्यक्ष चौधरीका अनुसार पछिल्ला वर्षहरूमा रासायनिक मलको अत्यधिक प्रयोगले माटो कमजोर बन्दै गएको, बालीको गुणस्तर घट्दै गएको र मानव स्वास्थ्यमा समेत दीर्घकालीन असर देखिन थालेपछि किसानहरू जैविक विकल्पतर्फ आकर्षित भएका छन् ।

“माटो, वातावरण र स्वास्थ्य तीनै क्षेत्रमा रासायनिक मलको नकारात्मक प्रभाव देखिँदैछ। त्यसैले अहिले गाउँ–टोलमै अर्गानिक मलको माग बढेको छ,” उनले बताइन् ।

कृषकलाई जैविक खेती अपनाउन उनले निरन्तर आग्रह गरिरहेकी छिन्, जसले जनप्रतिनिधि स्वयंको व्यवहारले नै अभियानलाई बढी प्रभावकारी बनाएको स्थानीयले बताउँछन्।

कम्लहरीदेखि उपाध्यक्षसम्म : संघर्षको कथा

उपाध्यक्ष चौधरीको जीवन स्वयम् एउटा गहिरो प्रेरणादायी यात्रा हो । कम्लहरी जीवन बिताउँदै ठूलो संघर्ष, अपमान, श्रम र दृढ मनोबलमार्फत उनी आज गाउँपालिकाको उपाध्यक्षका रूपमा महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेकी छिन् ।

उनी भन्छिन्, “कम्लहरी भएर हुर्किएको मान्छे हुँ, आज जनप्रतिनिधि बनेकी छु । श्रम नै सम्मान हो भन्ने अनुभूति अझ गहिरिएको छ ।”

उनको व्यक्तित्व स्वयंले गाउँका महिलाहरूलाई-विशेषगरी असहाय पृष्ठभूमिबाट उठिरहेका युवतीहरूलाई-संघर्ष र सफलताबीचको दूरी श्रमले नै घटाउँछ भन्ने सन्देश दिएको छ ।

गाउँमै जैविक परिवर्तन : नेतृत्वको वास्तविक प्रभाव

राप्ती गाउँपालिकाले जैविक कृषि, वातावरणमैत्री खेती र स्थानीय उत्पादन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ तर नीति बनाउँदा–बनाउँदै जनप्रतिनिधि स्वयंले व्यवहारमा उतारेर देखाएको सक्रियता भने यस अभियानको सबैभन्दा ठूलो शक्ति बनेको छ ।

उपाध्यक्ष चौधरीले सुरु गरेको घर–आधारित मल उत्पादन अभियानले-गाउँमा जैविक मलप्रतिको विश्वास बढाएको, किसानलाई रासायनिक निर्भरता घटाउने बाटो देखाएको, जैविक कृषिमा नयाँ सम्भावना पहिचान गरेको, महिलामा स्वावलम्बन र नेतृत्वको सोच बलियो पारेको स्थानीयको बुझाइ छ।

दिगो भविष्यतर्फ अघि बढ्दै

उपाध्यक्ष चौधरीको यो प्रयास कृषिमा आत्मनिर्भरता र वातावरणप्रेमी सोचको प्रस्ट उदहारण मात्र होइन, नेतृत्वको वास्तविक स्वरूप कस्तो हुँदै जानुपर्छ भन्ने पनि देखाउने उदाहरण बनेको छ । नीतिबाट मात्र होइन, व्यवहारबाट परिवर्तन सम्भव हुन्छ भन्ने तथ्य उहाँले पुष्टि गरेकी छिन् ।

गाउँको माटोसँग, बालीसँग, किसानसँग, अनि श्रमसँग आत्मीय सम्बन्ध राख्दै गरिएको यो पहलले राप्ती गाउँपालिकालाई दीर्घकालीन जैविक कृषि प्रणालीतर्फ लैजाने अपेक्षा गरिएको छ । उपाध्यक्ष चौधरीको कथा-श्रम, संघर्ष र सफलताको सुगन्धित माटोबाट उब्जिएको प्रेरणादायी फसल हो ।



प्रतिक्रिया दिनुहोस !