डडेल्धुराबाट काठमाडौँ जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते
दाङ (देउखुरी) । डडेल्धुराबाट काठमाडौँतर्फ यात्रु लिएर जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस आज बिहान दाङमा दुर्घटना परेको छ ।
लमही नगरपालिका–१, कौडियापुल नजिकै पूर्व–पश्चिम राजमार्गमा करिब ३ बजे बस पुलबाट तल खोलामा खस्दा २२ जना यात्रु घाइते भएका हुन् ।
वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी निरीक्षक रोशनराज पाण्डे नेतृत्वको टोलीले घाइतेहरूको उद्धार गरी तत्काल उपचारका लागि लमही अस्पताल पुर्याएको जनाएको छ ।
अस्पतालका अनुसार सबै घाइतेको उपचार जारी रहेको छ भने तीमध्ये २ जनालाई थप जटिल उपचारका लागि बाहिर रेफर गर्नुपर्ने सम्भावना रहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।
बसमा कुल ३८ जना सवार रहेको प्रारम्भिक तथ्यांकमा उल्लेख छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहे पनि बसको पट्टा (लीफ स्प्रिङ) भाँचिएर नियन्त्रण बिग्रिएको प्रारम्भिक बयान चालकले प्रहरीसमक्ष दिएका छन् ।
प्रहरीले बस सडकबाट सिधै पुलतर्फ छेउमा गएर खोलामा खसेको बताउँदै घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।








