२६ मंसिर २०८२, शुक्रबार

राप्ती गाउँपालिकाको सरसफाइ व्यवस्थापन केन्द्रमा आगलागी : उत्पादन उपकरण पूर्णरूपमा नष्ट

प्रकाशित मिति :  12 December, 2025 9:48 am


लक्ष्मी पाेखरेल,
दाङ (देउखुरी) ।
दाङको राप्ती गाउँपालिकामा सञ्चालित सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीले ठूलो क्षति भएको छ।

गाउँपालिकाको वडा नम्बर-२, पुन्यपुरस्थित केन्द्रमा आज बिहान अचानक आगो लागेको हो । बिहान करिब ६ बजे कर्मचारीहरूले आगलागी भएकाे देखेपछि पालिकामा जानकारी गराएकाे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिए ।

“कर्मचारीहरूले बिहान ६ बजे आगलागी देखेपछि तुरुन्तै खबर गर्नु भएपछि आगलागी भएकाे जानकारी पाएका हाैँ । जनप्रतिनिधि, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीयवासीहरूको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएकाे हाे”, अध्यक्ष बिष्टले भने ।

उनका अनुसार राप्ती गाउँपालिकाको मिनी दमकल र छिमेकी गढवा गाउँपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा ल्याइएको छ ।

इको फेम्ली प्रालि, हेटौडाको प्राविधिक सहयोगमा सञ्चालनमा आएको सो केन्द्रमा प्लास्टिकजन्य बजारमा नचल्ने फोहोरबाट इन्टरलक टायल उत्पादन हुँदै आएको थियो ।

आगलागीका कारण टायल निर्माणमा प्रयोग हुने प्रमुख मेसिनरी, उपकरण, टस्ट र स्टक सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

गाउँपालिकाले क्षति मूल्यांकन प्रक्रिया सुरु गरिसकेको छ । प्रारम्भिक अनुमानअनुसार क्षति ठूलो रकममा रहने अनुमान गरिएको छ, तर आधिकारिक विवरण भने अझै संकलन भइरहेका छन्।

घटनाले वातावरणमैत्री फोहोर व्यवस्थापन र पुन: प्रयोग कार्यक्रमलाई ठूलो धक्का पुगेको जनाइएको छ। आगलागीको कारण खुलेको छैन, तथापि प्राविधिक टोलीले कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको अध्यक्ष बिष्टले बताए।

राप्ती गाउँपालिकाले घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै पुनर्निर्माण तथा सेवा पुनःसञ्चालनका लागि आवश्यक कदम चालिने जनाएको छ।

अध्यक्ष बिष्टले आगलागीप्रति गम्भीर दुःख व्यक्त गर्दै भने, “हाम्राे सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागी निकै दु:खद घटना हो । केन्द्रमा रहेका मेसिनरीदेखि उत्पादन सामग्रीसम्म पूर्ण रूपमा नष्ट हुनु हाम्रो लागि ठूलो क्षति हो। अहिले हामी क्षति विवरण संकलन गर्ने काममा छाैँ । पुनःनिर्माण र सेवा पुनःसञ्चालनका लागि गाउँपालिकाले आवश्यक सबै कदम चाल्नेछ। यो बिपत्तिको बीचमा पनि हामी सेवा अवरुद्ध हुन नदिनेगरी अघि बढ्नेछौं ।”



प्रतिक्रिया दिनुहोस !