२६ मंसिर २०८२, शुक्रबार

एमालेको ११ औँ महाधिवेशन तयारी अन्तिम चरणमा : तीन लाख सहभागी हुने दाबी

प्रकाशित मिति :  12 December, 2025 5:44 pm


काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीले शुक्रवार भक्तपुरको सल्लाघारीस्थित महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गरी सबै तयारी लगभग पूरा भएको जानकारी गराएको हो ।

मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठका अनुसार महाधिवेशनका लागि आवश्यक संरचना, ध्वनि प्रणालीलगायत सबै प्राविधिक तथा व्यवस्थापकीय कामहरू ९० प्रतिशत सम्पन्न भइसकेका छन् । उनले सल्लाघारी क्षेत्र एमालेको महाधिवेशनका लागि उपयुक्त भएकाले नै स्थान चयन गरिएको उल्लेख गरे ।

त्यसैगरी, पार्टीका केन्द्रिय सदस्य राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा करिब तीन लाख नेता–कार्यकर्ता सहभागी हुने विश्वास व्यक्त गरे । उनले यस महाधिवेशनबाट ‘प्रतिशोधविरुद्ध तथा संविधान र व्यवस्था रक्षाको महाअभियान’ सुरु हुने दाबी समेत गरे ।

भट्टराईका अनुसार विदेशबाट पाहुना प्रत्यक्ष रूपमा आमन्त्रण गर्न नसकिए पनि शुभकामना पठाउन अनुरोध गरिएको छ। उनले देशका १६ विभिन्न राजनीतिक दलका नेताहरू उद्घाटन सत्रमा सहभागी हुने जानकारी दिए ।

विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेकाले आगामी महाधिवेशन नेतृत्व चयनमा पूर्णतः केन्द्रित हुने जनाइएको छ ।

पार्टी अध्यक्ष पदका लागि यसपटक अध्यक्ष केपी शर्मा ओली नै पुन: नेतृत्वका दाबीदार रहेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि प्रतिस्पर्धा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !