अन्तरिम सरकारले मन्त्रीपरिषद् विस्तार : चार नयाँ मन्त्रीले गरे शपथ
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रीपरिषद् विस्तार गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार औपचारिक रूपमा सम्पन्न भएको हो ।
नवनियुक्त मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । राष्ट्रपति कार्यालयका अनुसार श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, माधव चौलागाईंलाई वन तथा वातावरण मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा कुमार इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
शीतल निवासमा भएको शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा नियुक्त भएका यी मन्त्रीहरू जेन–जी पुस्तालाई प्रतिनिधित्व गर्ने नेताका रूपमा वर्णित छन्। मन्त्रिपरिषद् विस्तारसँगै अन्तरिम सरकार आगामी कार्यसूची कार्यान्वयनमा थप सशक्त रूपमा अघि बढ्ने जनाइएको छ।








