२७ मंसिर २०८२, शनिबार

रोगसँगको लडाइदेखि प्रदेश नेतृत्वसम्म : एमाले महाधिवेशनमा आचार्यको उचाइ

प्रकाशित मिति :  13 December, 2025 6:19 am


दाङ (देउखुरी) । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । यो महाधिवेशनले संगठनको भावी दिशा निर्धारण गर्नुका साथै आगामी नेतृत्व चयनमार्फत पार्टीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । यही सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य केन्द्रीय सदस्यका लागि बलियो दाबेदारका रूपमा अगाडि उभिएका छन् ।

हाल पनि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिरहेका आचार्यको संगठनात्मक क्षमता, आन्तरिक अनुशासनप्रतिको कटिबद्धता र प्रदेश शासनमा देखिएको नेतृत्व शैलीका कारण पार्टीभित्र उनीप्रतिको भरोसा थप सुदृढ बनेको छ।

प्रदेश शासनमा देखिएको परिणामले आचार्यप्रतिको विश्वास बढायो

लुम्बिनी प्रदेशको नेतृत्व सम्हाल्दा प्रदेश सरकार गम्भीर आर्थिक संकटको अवस्थामा थियो । अघिल्ला वर्षका भुक्तानी तिर्न नसकिएको अवस्था, अव्यवस्थित नीति–योजना, चुनौतीपूर्ण जनशक्ति व्यवस्थापन र सुशासनप्रतिको बढ्दो अविश्वास प्रमुख समस्या थिए। यस्ता जटिल अवस्थाबाट प्रदेशलाई बाहिर निकाल्दै आचार्यले समग्र कार्यव्यवस्थालाई पुनः लयमा फर्काए ।

भुक्तानी टुंग्याउने, नीति–योजना स्पष्ट बनाउने, सुशासनलाई केन्द्रमा राख्ने र पूर्व विशिष्ट पदाधिकारीका सेवा–सुविधा कटौतीजस्ता कडा निर्णयमार्फत उनले ‘कामले देखिने नेतृत्व’को पहिचान स्थापित गरे । जेन–जी आन्दोलनभन्दा अगावै सुशासनमा जोड दिने निर्णय, पाँच लाख रुपैयाँभन्दा माथिका योजनाहरू प्रतिस्पर्धामार्फत कार्यान्वयन गर्ने जोखिमपूर्ण तर प्रभावकारी कदम तथा खर्चमा अनुशासन कायम गर्ने शैली पार्टीभित्र समेत चर्चाको विषय बनेका छन्।

गौरव परियोजना र दीर्घकालीन संरचनामा देखिएको स्पष्ट नेतृत्व

प्रदेशका गौरवका आयोजनाहरू आचार्यको प्राथमिकतामा परेका छन्। १२ तले, एक हजार दुई शय्याको लुम्बिनी प्रादेशिक अस्पताल तीव्र गतिमा निर्माण हुँदैछ । पाँच वर्षभित्र देशकै नमुना अस्पताल बनाउने लक्ष्यसहित अघि बढेको यो परियोजनाले प्रदेश सरकारको क्षमता प्रष्ट रूपमा देखाएको छ ।

राजधानी क्षेत्र विकास, प्रशासनिक भवन निर्माणको अन्तिम चरण, प्राविधिक विश्वविद्यालयमा विद्यार्थी आकर्षण, रामपुर–कपुरकोट सडकमा भएको तीव्र प्रगति, १५ लोकमार्ग र ५८२ प्रादेशिक सडक समेटिएको गुरुयोजना, सयौँ किलोमिटर सडक निर्माण तथा पुल–पुलेसा विस्तारले प्रदेशको भौतिक विकासलाई नयाँ स्तरमा पुर्याएको छ।

त्यसैगरी, १३६ नयाँ खानेपानी आयोजना, कृषि यान्त्रीकरण, सिंचाइ विस्तार, एसईई नतिजामा उल्लेखनीय सुधार ल्याएको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान, मातृ–शिशु स्वास्थ्यका विशेष कार्यक्रम, क्यान्सर र मृगौला रोग उपचारमा विशेष सुविधा जस्ता कदमहरूले सामाजिक क्षेत्रमा पनि आचार्यको काम स्पष्ट रूपमा देखिएको छ।

कठिन रोगलाई जितेर फर्किएको दृढ नेतृत्व

वि.सं. २०७२ मा क्यान्सरले थला पारेका आचार्यले जीवन–मरणको अवस्थाबाट उठेर पुनः राजनीतिक मैदानमा फर्किएको कथा पार्टीभित्र प्रेरणादायी प्रसङ्गका रूपमा लिइन्छ । भक्तपुर क्यान्सर अस्पतालदेखि भारतको मेदान्त अस्पतालसम्मको उपचार यात्रा र रजहरमा गरिएको प्राकृतिक चिकित्साले उनलाई पुनः सशक्त बनायो । रोगलाई जितेर संगठन र जनतामाझ पुनः उभिन सकेको यही आत्मविश्वासले आज उनको नेतृत्वप्रति अझ ठूलो विश्वास पैदा गरेको देखिन्छ ।

पाको अनुभव र पार्टीप्रतिको निरन्तर योगदान

अनेरास्ववियूबाट वि.सं. २०३९ मा सुरु भएको आचार्यको राजनीतिक यात्रा वि.सं. २०४७ मा जिल्ला कमिटी सदस्य, २०५४ मा जिल्ला सचिव, २०६९ देखि २०७८ सम्म जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म विस्तार भएको हो । दुई पटक प्रदेशसभा सदस्य निर्वाचित उनले आन्तरिक मामिला, सहरी विकास, खानेपानी, आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी सम्हाल्दै हाल मुख्यमन्त्रीका रूपमा प्रदेश नेतृत्व गरिरहेका छन् ।

महाधिवेशनमा चर्चाः संगठन बलियो पार्ने नेतृत्वको रूपमा आचार्य

पार्टीभित्र अनुशासन, संगठन विस्तार, कार्यशैलीको स्पष्टता र व्यक्तिगत जीवनशैलीको सरलता आचार्यका प्रमुख विशेषताका रूपमा लिइन्छ ।

महाधिवेशनले संगठन सुदृढ बनाउने, भावी नेतृत्व तय गर्ने र आगामी राजनीतिक यात्रा निर्धारण गर्नेछ । यस सन्दर्भमा प्रदेश नेतृत्वमा देखाएको परिणाममुखी कार्यशैली र कठिन निर्णय लिन सक्ने क्षमताले आचार्यलाई केन्द्रीय तहमा अझ महत्वपूर्ण भूमिकाका लागि अगाडि बढाएको छ ।

एमालेको ११औँ महाधिवेशनले कस्तो नेतृत्व जन्माउँछ भन्ने कुरा आगामी दिनले स्पष्ट गर्नेछ। तर लुम्बिनी प्रदेशमा गरिएको काम र देखिएको दृढ नेतृत्व हेर्दा चेतनारायण आचार्यको नाम अहिले पार्टीभित्र मजबुत रूपमा गुञ्जिएको छ ।



प्रतिक्रिया दिनुहोस !