पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन
प्रिया स्मृति गजमेर,
दाङ (देउखुरी) । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले पार्टीको पन्ध्रौँ महाधिवेशनको तयारीमा एकताबद्ध भएर जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संस्थापन पक्षले शुक्रबार लमहीमा आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले वडादेखि केन्द्रसम्म सर्वसम्मत रूपमा प्रतिनिधि छनोट हुने गरी महाधिवेशनको तयारी अघि बढाउन आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै सहमहामन्त्री राठौरले जेन–जी आन्दोलनका नाममा भएका गतिविधिलाई लिएर पार्टीभित्र केही व्यक्तिहरूले विभाजनतर्फ लैजाने षड्यन्त्र गरेको आरोप लगाए ।
आन्दोलनका क्रममा अराजक समूहबाट कांग्रेस सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणप्रति सहानुभूति नदेखाई उल्टै हस्ताक्षर संकलन गर्दै देश दौडाहा गर्नु गलत संकेत भएको उनको भनाइ थियो ।
राठौरले नेताले कार्यकर्तालाई न्याय दिन नसके कार्यकर्ताको भरोसा र मनोबल दुवै गुम्ने उल्लेख गर्दै नेतृत्वले कार्यकर्ताप्रति माया र जिम्मेवारीबोध राख्नुपर्ने आवश्यकता औँल्याए । पार्टीले प्रभावकारी प्रशिक्षण नदिनु पनि कार्यकर्तामा नकारात्मक सोच बढ्नुको एक कारण भएको उनले बताए ।
“बुढापाकाले धानेको पार्टी हो, गुट–उपगुट हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ,” राठौरले भने, “तर गुटको नाममा विभाजनको भूमिका खेल्नु अस्वीकार्य छ।” उनले जेन–जीको नाममा पार्टीभित्र विवाद सिर्जना गर्नु गैरजिम्मेवार कदम भएको बताए ।
राणाशासन र पञ्चायत दुवै हटाउन सफल भएको कांग्रेस विचलित हुनुपर्ने कुनै कारण नरहेको उल्लेख गर्दै राठौरले राजनीतिमा व्यक्तिभन्दा विचार र इमानदारीले नेतृत्वको पहिचान तय गर्ने धारणा राखे ।
कांग्रेसले शान्ति र विकासका क्षेत्रमा काम गरे पनि सुशासन र भ्रष्टाचार नियन्त्रणमा कमजोरी रहेको कुरालाई पार्टीले आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो ।
यसै अवसरमा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडले भदौ २३ र २४ गतेको जनजी आन्दोलनका नाममा अराजक समूहले देशमा घुसपैठ गरेको दाबी गरे । भू–राजनीतिक असन्तुलन बुझ्न नसक्दा देश अस्थिर विद्रोहको शिकार बन्न पुगेको उनले बताए।
खाँडले गठबन्धन सरकारको नेतृत्वमा रहेका बेला आन्दोलन सुरु हुँदा कांग्रेसलाई गठबन्धन जोगाउने दायित्व रहेको उल्लेख गर्दै “गठबन्धन नतोड्नु अपराध हो र ?” भन्दै कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अराजक गतिविधिको समर्थन नगर्ने स्पष्ट पारे ।
लमहीमा सम्पन्न संस्थापन (देउवा) पक्षको भेलामा आगामी पन्ध्रौँ महाधिवेशन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अपनाउने रणनीतिका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रम नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालको अध्यक्षता, केन्द्रीय सहमहामन्त्री किशोर सिंह राठौरको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।
भेलामा केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री रूपा विक, गुरु बराल, पूर्व राज्यमन्त्री देवेन्द्रराज कंडेल, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, रोल्पा, प्युठान, रुकुम पूर्व, बाँके र बर्दिया जिल्लाका नेताहरूले आ–आफ्ना धारणा राखे थिए ।








