२७ मंसिर २०८२, शनिबार

दाङकाे लमहीमा होटलभित्र लुकाई राखिएको पेस्तोल पड्किदा एक जना घाइते

प्रकाशित मिति :  13 December, 2025 2:43 pm


दाङ (देउखुरी) । लमहीमा होटलको कोठाभित्र लुकाएर राखिएको पेस्तोल पड्किँदा एक जना कर्मचारी घाइते भएका घटनाले सार्वजनिक स्थानको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।

शनिबार बिहान पौने ११ बजेतिर लमहीको रातो डाँडा स्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षिय सिसम गौतम कोठा सफा गर्ने क्रममा घाइते भएका हुन् ।

एसीमाथि लुकाएर राखिएको पेस्तोल निकाल्ने क्रममा अचानक गोली पड्किँदा उनको औँलामा चोट लागेको प्रहरीले जनाएको छ ।

दाङ प्रहरीका प्रवक्ता चक्रबहादुर शाहका अनुसार घाइते गौतमको अवस्था सामान्य छ । तर, होटलको कोठाभित्र कसरी र किन पेस्तोल राखिएको थियो भन्ने विषयले घटनालाई सामान्य दुर्घटनाभन्दा गम्भीर बनाएको छ ।

घटनाको जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ । पेस्तोल कसको हो, कहिलेदेखि कोठामा राखिएको थियो र त्यसमा कसको संलग्नता छ भन्ने विषयमा प्रहरीले छानबिन गरिरहेको जनाएको छ ।

यसअघि पनि लमहीमै रहेको एक सुनचाँदी पसलमा गोली चलेर एक व्यक्ति घाइते भएको घटना सार्वजनिक भइसकेको सन्दर्भमा, पछिल्ला घटनाले लमही क्षेत्रमा अवैध हतियारको पहुँच र नियन्त्रणको अवस्था प्रति चिन्ता बढाएको छ ।

स्थानीयस्तरमा होटलजस्ता सार्वजनिक स्थानमा सुरक्षा मापदण्ड कत्तिको पालना भइरहेको छ भन्ने प्रश्नसँगै, यस्ता घटनाले सामान्य नागरिकको सुरक्षामा राज्यको भूमिकाबारे पुनः बहस सुरु गराएको छ ।



प्रतिक्रिया दिनुहोस !