२७ मंसिर २०८२, शनिबार

महाधिवेशन मञ्चबाट ओलीको चेतावनी : हिंसा, युद्ध र जबर्जस्तीको राजनीतिलाई एमालेले मान्दैन

प्रकाशित मिति :  13 December, 2025 2:55 pm


भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई वैचारिक स्पष्टता र राजनीतिक सन्देश दिने मञ्च का रूपमा प्रयोग गर्दै, हिंसा र युद्धलाई परिवर्तनको वैध माध्यम मान्न नसकिने धारणा दोहोर्‍याएका छन् ।

भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन समारोहमा ओलीले वर्तमान सरकारप्रति असहमति जनाउँदै, हिंसात्मक पृष्ठभूमिबाट आएका राजनीतिक परिवर्तनलाई आफूहरूले स्वीकार नगर्ने स्पष्ट संकेत दिए ।

उनका अनुसार, समाज परिवर्तनको बाटो जनताको समर्थन, संवाद र शान्तिपूर्ण अभ्यासबाट मात्र सम्भव हुन्छ । ओलीले एमालेको मूल दृष्टिकोण जनताको मन जितेर समाज बदल्ने भएकाले त्यसै कारण पार्टीमाथि निरन्तर प्रहार भइरहेको दाबी गरे ।

विविधता र बहुलतालाई दूरी बढाउने तत्व होइन, राष्ट्रिय सम्पदाका रूपमा हेर्ने दृष्टिकोणकै कारण आलोचना भइरहेको उनको भनाइ थियो ।

‘विविधतामा एकता’ लाई एमालेको मूल मन्त्रका रूपमा अघि सार्दा समेत पार्टीमाथि आक्रमण भएको उल्लेख गर्दै ओलीले संविधान संशोधनको अधिकार लोकतान्त्रिक प्रक्रियाबाट प्रयोग गर्ने पक्षमा एमाले दृढ रहेको बताए ।

स्वतन्त्रताको प्रयोग र दुरुपयोगबीचको सीमारेखा स्पष्ट राख्ने कुरामा पार्टी प्रतिबद्ध रहेको सन्देश पनि उनले दिए । महाधिवेशनको मञ्चबाट आएको ओलीको यो अभिव्यक्तिलाई एमालेले केवल सरकारको आलोचना नभई, हिंसामुक्त राजनीति, शान्तिपूर्ण रूपान्तरण र बहुलतामा आधारित लोकतन्त्र को पक्षमा आफूलाई स्पष्ट रूपमा उभ्याएको घोषणाका रूपमा लिएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !