२८ मंसिर २०८२, आइतबार

नेतृत्व चयनअघि ‘एजेन्डा मिलान’ मा एमाले : बन्दसत्रअघि केन्द्रीय कमिटी बैठक

प्रकाशित मिति :  14 December, 2025 10:26 am


काठमाडौँ । नयाँ नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गर्नुअघि नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ९ बजे भृकुटीमण्डपस्थित बन्दसत्रस्थलमै केन्द्रीय कमिटी बैठक बस्ने भएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पार्टी विधान संशोधनसँगै समसामयिक राजनीतिक परिस्थिति र महाधिवेशनसँग जोडिएका विषयमा छलफल हुनेछ ।

नेतृत्व चयन प्रक्रिया अघि बढ्नुअघि पार्टीका प्रमुख राजनीतिक र संगठनात्मक एजेन्डामा साझा धारणा बनाउने उद्देश्यले बैठक बोलाइएको बुझिएको छ ।

केन्द्रीय कमिटी बैठकका कारण बिहान ८ बजेका लागि तय गरिएको महाधिवेशनको बन्दसत्र दिउँसो १२ः३० बजे सारिएको छ । शनिबारदेखि सुरु भएको महाधिवेशनको औपचारिक बन्दसत्र आजबाट सुरु हुँदैछ ।

बन्दसत्रमार्फत एमालेले नयाँ नेतृत्व चयन गर्नेछ। सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहे पनि सहमति नजुटे मतदान प्रक्रियामा जाने तयारी पार्टीले गरिसकेको छ । आजको केन्द्रीय कमिटी बैठकलाई नेतृत्व चयनअघि अन्तिम राजनीतिक ‘होमवर्क’ का रूपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस !