एमाले महाधिवेशनको बन्दसत्रअघि केन्द्रीय कमिटीको अन्तिम बैठक सम्पन्न
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक सम्पन्न भएको छ ।
बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बसेको उक्त बैठकको आरम्भ गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा देखिएको कार्यकर्ताको उल्लेख्य उपस्थितिले मुलुकमा राजनीतिक दलहरूको औचित्य अझै बलियो रहेको पुष्टि भएको बताए ।
उनले पार्टीप्रतिको जनसमर्थन र विश्वासलाई संगठनात्मक सुदृढीकरणमार्फत थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए ।बैठकमा पार्टी महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, निर्वाचन आचारसंहिता, समसामयिक राजनीतिक प्रस्तावलगायतका मुख्य एजेण्डाहरू प्रस्तुत गरेका थिए । प्रस्तुत एजेण्डामाथि केन्द्रीय सदस्यहरूबीच संक्षिप्त छलफलसमेत भएको जनाइएको छ ।
महाधिवेशनको बन्दसत्रमा नेतृत्व चयन, सांगठनिक संरचना र भावी कार्यदिशासम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने पार्टीले जनाएको छ ।







