१ पुस २०८२, मंगलबार

प्यूठानमा उपचार सञ्जाल कमजोर हुँदा गर्भवती आमा र शिशुको मृत्यु

प्रकाशित मिति :  16 December, 2025 6:37 pm


दाङ (देउखुरी) । स्वास्थ्य जाँच नियमित थियो, चिकित्सकीय रिपोर्ट पनि सामान्य नै देखिएको थियो । तर आवश्यक बेला प्रभावकारी उपचार नपुग्दा प्यूठानमा एक गर्भवती महिला र गर्भमै रहेको शिशुकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे नौबहिनी गाउँपालिका–६ की ३३ वर्षिया आशा विकको सोमबार उपचारकै क्रममा मृत्यु भएको हो । स्थानीय स्वास्थ्य चौकीदेखि जिल्ला अस्पताल हुँदै प्रादेशिक अस्पतालसम्म पुर्‍याइए पनि समयमै विशेषज्ञ सेवा उपलब्ध नहुनु, सघन उपचार कक्ष (आईसीयू) र शल्यक्रिया सुविधा अभावले आशा र उनको शिशुलाई जोगाउन सकिएन ।

परिवारका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुग्दा आमा र बच्चा दुवैको ज्यान एक घण्टाअघि नै गइसकेको जानकारी दिइएको थियो ।

स्वास्थ्यकर्मीका अनुसार सुत्केरी प्रक्रिया सुरु हुँदा अवस्था सामान्य देखिए पनि व्यथा तीव्र हुँदै गएपछि जोखिम बढेको थियो । स्थानीय स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल र त्यसपछि प्रादेशिक अस्पताल रिफर गरिए पनि एम्बुलेन्स ढिलाइ र सीमित सुविधाले उपचार श्रृंखला प्रभावकारी बन्न सकेन ।

जिल्ला अस्पतालमा आईसीयू र आवश्यक शल्यक्रिया सुविधा नहुँदा जटिल अवस्था सम्हाल्न नसकिएको अस्पताल प्रशासन स्वीकार गर्छ ।

ग्रामीण भेगका गर्भवती महिलालाई आकस्मिक अवस्थामा तत्कालै उच्चस्तरीय सेवा उपलब्ध गराउने संरचना कमजोर रहँदा यस्ता दुःखद घटनाहरू दोहोरिने खतरा रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।

तीन सन्तानकी आमा आशा विकको मृत्युले परिवार मात्र होइन, समग्र जिल्लाको मातृस्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

नियमित जाँच हुँदाहुँदै पनि सुरक्षित सुत्केरी सम्भव नहुनु स्वास्थ्य सेवाको पहुँच, पूर्वतयारी र आपतकालीन व्यवस्थापनमा सुधार आवश्यक रहेको संकेत हो ।



प्रतिक्रिया दिनुहोस !