एमाले महाधिवेशनको निर्णायक घडी : तीन घण्टामा परिणाम सार्वजनिक गरिने
काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतपरिणाम मतदान सकिएको तीन घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।
पार्टी केन्द्रीय निर्वाचन आयोगले यसपटक प्रविधिमा आधारित छिटो र व्यवस्थित प्रक्रियामार्फत परिणाम सार्वजनिक गर्न लागेको हो ।
केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मतदानपछि आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी मतगणना सुरु भएको तीन घण्टाभित्र परिणाम सार्वजनिक गरिनेछ ।
‘‘मतगणना बिहान ८ बजेदेखि सुरु गर्ने तयारी छ,’‘ उनले भने, ‘‘मतगणनाअघि मुचुल्का उठाउने, सहमति कायम गर्ने जस्ता प्राविधिक काममा केही समय लाग्छ, तर मतगणना थालेपछि तीन घण्टाभित्र नतिजा आउँछ।’‘
महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेकामा २ हजार २ सय २७ जनाले मतदान गरेका छन् । ३६ जना भने विभिन्न कारणले मतदानमा सहभागी भएनन् । बुधबार बिहान ९ः१२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया विद्युतीय प्रणालीमार्फत सम्पन्न भएको हो ।
एमालेको ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि ६ सय ४२ जनाको उम्मेदवारी परेको थियो । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो, जसले मतगणना प्रक्रिया छिटो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।
नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल प्यानलसहित निर्वाचनमा होमिएका छन् ।
प्यानल आधारित प्रतिस्पर्धाले महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको भावी दिशा र शक्ति सन्तुलनको निर्णायक मोडका रूपमा पनि हेर्न थालिएको छ । अब सबैको चासो तीन घण्टापछिको परिणाममा केन्द्रित भएको छ, जसले एमालेको आगामी राजनीतिक यात्राको खाका कोर्नेछ ।








