४ पुस २०८२, शुक्रबार

रुपन्देहीमा तेक्वान्दो खेलाडी किशोरको रहस्यमय हत्या

प्रकाशित मिति :  19 December, 2025 1:40 pm


दाङ । रुपन्देहीमा एक खेलकुद प्रतिभाको असामयिक मृत्युले स्थानीय समुदाय स्तब्ध बनेको छ । तेक्वान्दोका सक्रिय खेलाडीसमेत रहेका कञ्चन गाउँपालिका–३ धौलागिरी चोकका १७ वर्षिय ईशान शर्मा पौडेलको शव घर नजिकैको नालीमा भेटिएपछि घटनाले सुरक्षा, किशोर हिंसा र विद्यालय वरपरको वातावरणबारे गम्भीर प्रश्न उठाएको छ ।

बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन भएका ईशानको शव घरबाट करिब डेढ सय मिटर दूरीमा फेला परेको हो । प्रहरीका अनुसार उनको टाउकोको पछाडिको भागमा चोट देखिएको छ, जसका कारण हत्या भएको आशंका गरिएको छ ।

दैनिक अभ्यास, विद्यालय र खेलमैदानमै समय बिताउने ईशानको यस्तो अन्त्यले छिमेकी, साथीभाइ र खेलकुद क्षेत्रमा शोकको माहोल छाएको छ ।

प्रहरी अनुसन्धानले एक साताअघि विद्यालय परिसरमै भएको साथीहरूबीचको विवादतर्फ संकेत गरेको छ । एउटै युवतीको विषयलाई लिएर भएको भनिएको उक्त विवाद नै घटनाको कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यसले किशोर अवस्थामै बढ्दो आवेग, असहिष्णुता र सानो विवादले पनि ज्यान जाने अवस्थासम्म पुग्न सक्ने जोखिमतर्फ समाजलाई सचेत गराएको छ ।

रुपन्देही प्रहरीका सूचना अधिकारी सुरज कार्कीका अनुसार घटनास्थल वरपरको निगरानी कडा बनाइएको छ भने तीन जनालाई नियन्त्रणमा लिएर विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । प्रहरीले सत्य तथ्य पत्ता लगाएर दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।

स्थानीयवासी र खेलकुदकर्मीहरूले ईशानको हत्याले समुदायको शान्ति भंग गरेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । उदीयमान खेलाडीको जीवन यसरी टुंगिनु केवल एक परिवारको पीडा मात्र नभई समाजकै हार भएको उनीहरूको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !