अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कानुन अस्वीकार्य छ- अध्यक्ष शर्मा
लुम्बिनी सञ्चारकर्मी लक्ष्मी पोखरेलसहित २४ जना पत्रकार पुरस्कृत र सम्मानीत
दाङ (देउखुरी) । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुन अस्वीकार्य हुने स्पष्ट पारेकी छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३औँ स्थापना दिवसका अवसरमा घोराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रताविरुद्ध जाने कानुनी प्रावधानहरू पत्रकारिता र लोकतन्त्र दुवैका लागि घातक हुने बताइन् ।
अध्यक्ष शर्माले केन्द्र, प्रदेश र स्थानीय तह तीनै तहमा कानुन निर्माणको प्रक्रिया जारी रहेको उल्लेख गर्दै नीति निर्माणका क्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता भएको छ कि छैन भन्ने विषयमा विशेष सजगता आवश्यक रहेको बताइन् । उनले भनिन्, “अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास जहाँबाट भए पनि त्यसको प्रतिवाद गर्न पत्रकारहरू एकजुट हुनुपर्छ ।”
संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि समयमै निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै अध्यक्ष शर्माले त्यसका लागि वातावरण निर्माणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताइन् ।
“कानुन बचे मात्रै पत्रकारिता बच्छ,” उनले भनिन्, “संविधान जोगाउन समयमै निर्वाचन गराउने वातावरण निर्माणमा सञ्चार माध्यमले जिम्मेवार भूमिका खेल्नुपर्छ ।”
उनले पत्रकारहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा पनि उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै गलत सूचना र अफवाहबाट समाजमा भ्रम फैलिन सक्ने भएकाले सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्रवाहमा प्रतिबद्ध रहन आग्रह गरिन् ।
कार्यक्रमका विशिष्ट अतिथि तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्यले प्रेस काउन्सिल पत्रकार संरक्षणका लागि क्रियाशील रहेको स्पष्ट पार्दै आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई उन्मुक्ति दिन नसकिने बताए । उनले पत्रकारहरूबाट हुने त्रुटि सच्याउन तत्परता आवश्यक रहेको उल्लेख गरे ।
महासंघका केन्द्रीय सचिव सविन प्रियासनले प्रविधि र सामाजिक सञ्जालको तीव्र विकाससँगै पत्रकारिता क्षेत्रमा चुनौती बढ्दै गएको बताए ।
आर्थिक मन्दीका कारण साना लगानीका मिडिया संकटमा परेको उल्लेख गर्दै उनले तिनको संरक्षणका लागि राज्यले सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिए । छापा माध्यम सबैभन्दा बढी संकटमा परेको भन्दै नयाँ प्रविधिलाई आत्मसात् गरेर विश्वसनीयता बढाउनुपर्ने उनको भनाइ थियो ।
लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले प्रविधिले सहजता र चुनौती दुवै थपेको उल्लेख गर्दै पत्रकारिता मूल्य–मान्यतालाई आत्मसात् गरेर अघि बढ्न नयाँ र पुराना पुस्ता दुवै सचेत हुनुपर्ने बताए ।
महासंघ दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले स्वतन्त्र र निष्पक्ष पत्रकारिता आजको अपरिहार्य आवश्यकता भएको भन्दै पत्रकारितालाई सत्ता र राजनीतिबाट अलग राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी प्रेस संगठनका प्रतिनिधि, राजनीतिक दलका नेता, कानुन व्यवसायी, उद्योग–वाणिज्य संघका पदाधिकारी तथा सञ्चारकर्मीहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
लुम्बिनी सञ्चारकर्मी लक्ष्मी पोखरेलसहित २४ जना पत्रकार पुरस्कृत र सम्मानीत
स्थापना दिवसका अवसरमा पत्रकारितामार्फत् योगदान पुर्याउने चार जना अग्रज पत्रकारलाई सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पूर्व केन्द्रीय उपाध्यक्ष उदय जिएम, रामप्रसाद पौडेल र भुवन देवकोटालाई ‘पत्रकारिता योगदान सम्मान’ प्रदान गरिएको हो ।
यसैगरी विभिन्न स्मृति तथा प्रतिभा पुरस्कारबाट २० जना पत्रकार पुरस्कृत भए । तीमध्ये खगराज लोहनी स्मृति क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट बसुन्धरा गौतम, अकिल–टुकादेवी स्मृति पत्रकारिता पुरस्कारबाट दुर्गालाल केसी, उमाकान्त–गीता–हरी स्मृति पत्रकारिता पुरस्कारबाट आर.के. शीतल, पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गौरव पौडेल, दीपक भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट जीवन रोका, देवकी नन्दन प्रतिभा पुरस्कारबाट केशरमान बुढाथोकी, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कारबाट शरद रेग्मी, ओमप्रकाश–शुभदेवी स्मृति पत्रकारिता पुरस्कारबाट रेखा शर्मा, लोककुमारी स्मृति प्रतिभा पत्रकारिता पुरस्कारबाट गोविन्द खड्का, दुर्गा–टिका स्मृति पत्रकारिता पुरस्कारबाट दिप्तिशिखा चौधरी, शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कारबाट नवीन नेपाली, टिका–नारायणी स्मृति पत्रकारिता पुरस्कारबाट जयन्ती चौधरी, वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट कुलदीप न्यौपाने तथा पत्रकारिता प्रतिभा पुरस्कारबाट लुम्बिनी सञ्चारकर्मी लक्ष्मी पोखरेल सम्मानित भइन् ।








