गण्डकी प्रदेशमा सहकारी केन्द्र नेपालको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा कोइराला चयन
काठमाडाैँ । सहकारी केन्द्र नेपाल गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलन पोखरामा सम्पन्न भएको छ। सम्मेलनले सात सदस्यीय पदाधिकारीसहित ३५ सदस्यीय प्रदेश समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
सम्मेलनबाट मीन प्रसाद कोइराला (स्याङ्जा) अध्यक्षमा चयन भएका छन्। उपाध्यक्षहरूमा हरि बहादुर खनाल (गोर्खा), पार्वती पनेरु (कास्की) र लोक भट्टराई (म्याग्दी) चयन भएका छन्। यस्तै सचिवमा गणेश प्रसाद आचार्य (कास्की), सह–सचिवमा टिक बहादुर पण्डित क्षेत्री (लमजुङ) र कोषाध्यक्षमा गगन बहादुर पुन (बाग्लुङ) चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका नेता तथा सहकारी केन्द्र नेपालका फ्याक्सन इन्चार्ज लिलामणि पोखरेल रहेका थिए । उनले पछिल्लो समय सहकारी आन्दोलनलाई कमजोर बनाउने प्रयासहरू बढिरहेको उल्लेख गर्दै सहकारी क्षेत्रलाई जनमुखी, पारदर्शी र विश्वासयोग्य बनाउन सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा सहकारी केन्द्र नेपालकी अध्यक्ष पार्वती थापा र उपाध्यक्ष चन्द्रा ढकाल पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीलाई उत्पादन, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
नव–निर्वाचित अध्यक्ष कोइराला नेपाली कम्युनिस्ट पार्टीका गण्डकी प्रदेश समिति सदस्य, जिल्ला सहकारी संघ स्याङ्जाका सचिव तथा कालिका माध्यमिक विद्यालयका अध्यक्ष समेत हुन् ।
उनले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूलाई सामूहिक प्रयासमार्फत समाधान गर्दै संस्थागत सुधार, पारदर्शिता र अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्मेलनमा सहभागी वक्ताहरूले सहकारी क्षेत्रमाथि सरकार तथा वित्तीय संस्थाबाट नियोजित रूपमा दबाब बढ्दै गएको आरोप लगाउँदै सहकारीको मूल मर्म, दर्शन र स्वायत्तता जोगाउन पारदर्शिता, जवाफदेहिता र सुशासनलाई थप बलियो बनाउनुपर्ने धारणा राखेका थिए।
सहकारी केन्द्र नेपाल गण्डकी प्रदेशले आगामी दिनमा सहकारी आन्दोलनलाई सुदृढ बनाउने, सदस्यहरूको हित संरक्षण गर्ने तथा समुदायमा आधारित आर्थिक गतिविधिहरूलाई पारदर्शी र प्रभावकारी बनाउन रचनात्मक भूमिका खेल्ने कार्यक्रम अघि बढाउने निर्णय गरेको जनाएको छ।








