६ पुस २०८२, आइतबार

शैक्षिक नेतृत्व असुरक्षित : संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि निवासमै दुर्व्यवहार

प्रकाशित मिति :  21 December, 2025 2:30 pm


दाङ (देउखुरी) । नेपाल संस्कृत विश्वविद्यालयभित्रको आन्तरिक असन्तुष्टि आइतबार हिंसात्मक रूपले सतहमा आएको छ । विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि बिहान सबेरै निवासमै पुगेर मोसो दल्नुका साथै कुटपिट गरिएको घटनाले शैक्षिक संस्था नै असुरक्षित बन्दै गएको गम्भीर संकेत देखाएको छ।

विश्वविद्यालय प्रशासनका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित निवासमा ५–६ जनाको समूहमा आएका अनेरास्ववियू (क्रान्तिकारी)का विद्यार्थीहरूले उपकुलपतिमाथि दुर्व्यवहार गरेका हुन् ।

विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले घटना पुष्टि गर्दै उपकुलपतिसहित अन्य दुई कर्मचारी पनि कुटपिटमा परेका बताए ।

जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठका अनुसार घटनामा संलग्न विद्यार्थीहरूको खोजी तीव्र बनाइएको छ भने दोषीलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको छ ।

प्रारम्भिक जानकारीअनुसार उनीहरूले भ्रष्टाचारको आरोप लगाउँदै उपकुलपतिमाथि आक्रमण गरेका थिए र घटनाका क्रममा नेकपा (बहुमत) तथा अखिल (क्रान्तिकारी) का पक्षमा नाराबाजीसमेत गरेका थिए ।

यस घटनाले विश्वविद्यालयभित्र असहमति अभिव्यक्त गर्ने शैलीप्रति गम्भीर प्रश्न उठाएको छ। शैक्षिक नेतृत्वमाथि प्रत्यक्ष आक्रमण हुनु केवल व्यक्तिमाथिको दुर्व्यवहार मात्र नभई शैक्षिक स्वायत्तता, संवाद र लोकतान्त्रिक मूल्यहरूमाथि चुनौतीका रूपमा हेरिएको छ ।

प्रशासनिक कमजोरी, राजनीतिक हस्तक्षेप र असन्तुष्टिलाई सम्बोधन गर्ने संयन्त्र कमजोर हुँदा विश्वविद्यालयजस्ता ज्ञानकेन्द्र नै तनावको अखडा बन्दै जान थालेको संकेत यस घटनाले दिएको विश्लेषकहरूको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !