७ पुस २०८२, सोमबार

चार लेन सडकको मागमा नागरिक सडकमा : प्रदेश राजधानी क्षेत्रमा सरकारी गाडी आवागमन रोक

प्रकाशित मिति :  22 December, 2025 9:43 am


लक्ष्मी पाेखरेल,
दाङ (देउखुरी) ।
लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा जाडो बढ्दै जाँदा जनताको असन्तोष भने झन् चर्किएको छ ।धनखोला–लमही सडकलाई दुई लेनमै सीमित गर्ने तयारीविरुद्ध उठेको आवाज अब सामान्य विरोधमा सीमित नरही प्रदेश राजधानीकै हैसियत र भविष्यसँग जोडिएको मुद्दा बनेको छ ।

स्थानीयवासीको आरोप छ-राज्य जनताको आवश्यकता भन्दा दातृ निकायको स्वार्थअनुसार निर्णय गर्न अघि बढिरहेको छ । यही असन्तुष्टिको अभिव्यक्तिस्वरूप आज पुस ७ गतेदेखि पुस महिनाभर लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित सबै सरकारी गाडी देउखुरी क्षेत्रमा निषेध गर्ने घोषणा गरिएको छ ।

धनखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिका संयाेजक प्रकाश शाहीले ९ बजेदेखि प्रदर्शन कार्यक्रम सुरु हुने बताएका छन् । प्रदेश सरकारकाे मुख्य क्षेत्रकाे सडकमा प्रदर्शनका लागि उत्रिन आह्वान गर्दै शाहीले आन्दोलन कुनै दल विशेषको नभई राजधानी देउखुरीको दीर्घकालीन विकास र पहिचान जोगाउने सामूहिक प्रयास भएकाे बताएका छन् ।

“प्रदेश राजधानीलाई साँघुरो सडकमा सीमित गर्नु देउखुरीलाई योजनाबद्ध रूपमा कमजोर बनाउने कदम हो,” शाहीको भनाइ छ ।

लुम्बिनी प्रदेश राजधानी गेट, राप्ती गाउँपालिका–३ स्थित प्रदेश प्रशासनिक निकाय (पुरानो आरटिएस गेट) मा भेला भएर आन्दोलन सुरु गरिएकाे छ । समितिले सबै देउखुरीवासीलाई चार लेन सडकको दबाब सिर्जना गर्न सरकारी गाडीहरू रोक्न आह्वान गरेको छ ।

सडक विस्तारको विषयले देउखुरीमा विकास बनाम निर्णय प्रक्रियाको बहससमेत जन्माएको छ । स्थानीयस्तरमा पर्याप्त छलफल नगरी निर्णय गरिएको भन्दै नागरिकहरू असन्तुष्ट छन् ।

चिसो मौसममा पनि सडकमा उत्रिन तयार देखिएको जनआक्रोशले देउखुरीमा आगामी दिनमा राजनीतिक र प्रशासनिक दबाब झन् बढ्ने संकेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस !