सिद्धबाबा सुरुङमार्ग ६५ प्रतिशत सम्पन्न : निर्माणलाई तीव्रता दिन मन्त्री घिसिङकाे निर्देशन
दाङ (देउखुरी) । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित निर्माणाधीन सुरुङमार्गले अब आकार लिँदै गएको छ ।
लामो समयदेखि पहिरो, ढुङ्गा खस्ने समस्या र मानवीय क्षतिका कारण कुख्यात मानिँदै आएको सिद्धबाबा क्षेत्रलाई सुरक्षित बनाउने उद्देश्यले निर्माण भइरहेको सुरुङमार्गको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ ।
आयोजनाअनुसार १ हजार १२६ मिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न भइसकेको छ । यससँगै १५१, १६१ र १३० मिटर लम्बाइका तीन वटा बाइपास सुरुङको काम पनि पूरा भएको छ ।
हाल सुरुङसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण, रिटेनिङ वाल तथा अन्य सहायक संरचनाहरू निर्माणाधीन अवस्थामा छन् । समग्रमा २ हजार ३९८ मिटर सडक स्तरोन्नति गर्नुपर्नेछ ।
पहिरो र ढुङ्गा झर्ने जोखिम नियन्त्रण गर्न ७८० मिटर लामो, ३.४३ मिटर चौडाइ र ४.४ मिटर उचाइको रक सेड निर्माण बाँकी रहेको आयोजनाले जनाएको छ । मुख्य सुरुङमार्गमा सवारी सञ्चालन सुरु भएपछि मात्र रक सेडको काम थालिनेछ ।
आइतबार सुरुङमार्ग निर्माणस्थलको अनुगमन गर्दै कुलमान घिसिङले कामलाई अझ तीव्रता दिई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा पनि सहभागी थिए ।
मन्त्री घिसिङले आयोजना, परामर्शदाता र निर्माण व्यवसायीबीच निरुपण हुन बाँकी विषय तत्काल टुंग्याउन निर्देशन दिँदै निर्णय ढिलाइका कारण कुनै पनि हालतमा निर्माण प्रभावित हुन नहुने स्पष्ट पारे ।
निर्माण व्यवसायीले विभिन्न कारण देखाउँदै १९ महिनाको म्याद थप माग गरेको विषयमा समेत तत्काल निर्णय गर्न उनले जोड दिए ।
इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडलमा यो सुरुङमार्ग निर्माणका लागि २०७८ फागुन २५ गते चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग करसहित ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८३ चैतभित्र सुरुङ निर्माण सम्पन्न गर्नुपर्नेछ भने त्यसपछि कम्पनीले १ हजार ८२५ दिन सञ्चालन तथा मर्मतसम्भार गर्नेछ ।
नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको यो सुरुङमार्ग सिद्धबाबा क्षेत्रमा वर्षायाम र हिउँद दुवै मौसममा हुने दुर्घटनाको स्थायी समाधानका रूपमा हेरिएको छ ।
सुरुङ सञ्चालनमा आएपछि सिद्धार्थ राजमार्ग हुँदै यात्रा गर्ने यात्रुका लागि सुरक्षित, भरपर्दो र समय–दूरी बचत हुने यात्रा सम्भव हुने अपेक्षा गरिएको छ ।








