स्याङ्जामा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको आरोपमा १ जना पक्राउ
काठमाडाैँ । स्याङ्जामा धारिलो हतियार प्रयोग गरी एक जनालाई घाइते बनाएको आरोपमा १ जना पक्राउ परेका छन्।
गत शनिवार राति करिब ८ः१० बजे पुतलीबजार नगरपालिका वडा नम्बर १३, छहरीखोला स्थित सामुदायिक बनको सालको रूख काट्ने विषयमा वादविवाद भएको थियो। सो क्रममा ४८ वर्षीय पुर्ण बहादुर अधिकारीलाई अज्ञात व्यक्तिले घाँटीको बाँया भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो।
घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेशन टोलीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा ४९ वर्षीय बिष्णु, टोप बहादुर अधिकारीलाई पुतलीबजार नगरपालिका वडा नं. १४, सतौं मैदानबाट गत आइतबार विहान ३ः२५ बजे पक्राउ गरिएको छ।
घाइते पुर्ण बहादुर अधिकारीको उपचार पोखरास्थित चरक अस्पतालमा भइरहेको छ। पक्राउ परेका बिष्णु अधिकारीविरुद्ध स्याङ्जा जिल्ला अदालतले आइतबारदेखि लागू हुने गरी ज्यान मार्ने उद्योग मुद्दामा ७ दिन म्याद थप अनुमती प्रदान गरेको छ। आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।








