८ पुस २०८२, मंगलबार

रुख काट्ने आदेश नदिएको भन्दै राप्ती गाउँपालिका अध्यक्षले भने-‘सत्य र न्यायका लागि उच्च अदालत जान्छाैँ

प्रकाशित मिति :  23 December, 2025 7:02 am


दाङ (देउखुरी)। लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्थापना प्रक्रिया अघि बढेसँगै सडकको दायाँ–बायाँ पर्ने संरचना हटाउन सडक डिभिजन कार्यालयले सूचना प्रकाशित गरेपछि उत्पन्न विवादबारे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले आफ्नाे धारणा सार्वजनिक गरेका छन्।

उनका अनुसार उक्त सूचनापछि केही स्थानीयवासीले आफ्नै घर अगाडि रहेका रुखहरू काटे पनि जनप्रतिनिधिको हैसियतले रुख काट्ने काम त परै जाओस्, एउटा हाँगा पनि भाँचिएको थिएन । “हामीले न आरा चलायौँ, न कसैलाई रुख काट्न आदेश दियौँ,” उनले स्पष्ट पारेका छन् ।

जनप्रतिनिधि भएको नाताले जे आरोप लगाए पनि हुने अवस्था सिर्जना भएको भन्दै उनले आपत्ति जनाए। राप्तीका जनताको पक्षमा उभिनु नै आफ्नो ‘एकमात्र अपराध’ भएको उनको भनाइ छ। यही कारण डिभिजन वन कार्यालय, लमहीले सम्मानित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको उनले बताए ।

उनले सो मुद्दा कुनै व्यक्तिविरुद्ध नभई राप्तीवासी जनताको पक्षमा उभिने साहसविरुद्ध लक्षित भएको अनुभूति व्यक्त गरे । जिल्ला अदालतको फैसलालाई सम्मान गर्ने उल्लेख गर्दै उनले न्यायालय लोकतन्त्रको मेरुदण्ड भएको र त्यसप्रति आफ्नो अटल विश्वास रहेको बताए।

साथै, यो अन्तिम फैसला नभएको भन्दै सत्य र न्यायप्रतिको भरोसासहित उच्च अदालत जाने घोषणा गरेका छन् । “न्यायको यात्रा कहिलेकाहीँ लामो, घुमाउरो र पीडादायी हुन्छ,” उनले भनेका छन्, “तर न्याय मरेको छैन। ढिलो हुन सक्छ, अन्धो हुँदैन।” आज आरोप र भ्रम फैलिन सक्ने भए पनि भोलि सत्य आफैं बोल्ने उनको विश्वास छ ।

सत्ता वा पदका लागि होइन, जनताको आँसु, पीडा र सपना बोकेर राजनीतिमा आएको उल्लेख गर्दै उनले जनताको पक्षमा उभिनु अपराध ठहरिए पनि त्यस्तो ‘अपराध’ बारम्बार गर्न तयार रहेको बताएका छन् ।

“जनताको विश्वास गुमाएर जोगाइने पदभन्दा, जनताको मनमा बसेर गुमाइने पद हजार गुणा ठूलो हुन्छ,” उनले जोड दिए।अन्त्यमा, यस कठिन घडीमा साथ, सान्त्वना र हौसला प्रदान गर्ने आम राप्तीबासी, शुभचिन्तक, राजनीतिक सहयात्री, नागरिक समाज, बुद्धिजीवी, कानुन व्यवसायी तथा न्यायमा विश्वास राख्ने सबैप्रति उनले हृदयदेखि आभार व्यक्त गरे। “तपाईंहरूको विश्वासले हामीलाई थाक्न दिएको छैन,” उनले भने, “सत्यको अवश्य जित हुनेछ।”

अध्यक्ष प्रकाश बिष्टकाे भनाइ जस्ताकाे तस्तै

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्थापना हुँदै गर्दा सडकको दायाँ–बायाँ पर्ने सबै संरचना हटाउनका लागि सडक डिभिजन कार्यालयले सूचना प्रकाशन गर्‍यो। त्यो सूचनापछि कतिपय स्थानीयवासीले आफ्नै घर अगाडि रहेका रुखहरू काटे। आज फेरि म भन्न चाहन्छु -हामी जनप्रतिनिधिले रुख काट्ने कुरा त परै जाओस्, रुखको एउटा हाँगा पनि भाँच्ने काम गरेका होइनौं।

हामीले न आरा चलायौँ, न कसैलाई रुख काट्न आदेश दियौँ। तर पनि आज यस्तो? यहाँ जनप्रतिनिधि भएपछि जसलाई जे आरोप लगाए पनि हुदो रहेछ।

हामीले गरेको अपराध एउटै थियो-राप्तीका जनतालाई बचाउनु, नागरिकको पक्षमा उभिनु। यही कारण आज हाम्रा विरुद्ध सम्मानित जिल्ला अदालतमा डिभिजन बन कार्यालय लमहीद्वारा मुद्दा दर्ता गरिएको हो। यो मुद्दा कुनै व्यक्तिविरुद्ध नभएर राप्तीवासी जनताको पक्षमा उभिने साहसविरुद्ध दायर गरिएको मुद्दाजस्तो लाग्छ। हामी सम्मानित जिल्ला अदालतले गरेको फैसलालाई सम्मान गर्दछौँ। न्यायालय हाम्रो लोकतन्त्रको मेरुदण्ड हो र त्यसप्रति हाम्रो आस्था अटल छ। तर यो पनि उत्तिकै सत्य हो,यो नै अन्तिम फैसला होइन। न्यायको यात्रा कहिलेकाहीँ लामो हुन्छ, घुमाउरो हुन्छ, पीडादायी हुन्छ। त्यसैले हामी उच्च अदालत जानेछौँ, सत्य र न्यायप्रतिको भरोसाका साथ।

आज धेरैले हामीलाई भन्दै हुनुहुन्छ, अत्यन्तै दु:ख लाग्यो…

जब जनताको लागि बोलेको आवाजलाई अपराध ठहर गरिन्छ, जब जनताको पक्षमा उभिएको जनप्रतिनिधिलाई गलत नियतको चश्माबाट हेरिन्छ, तब मन दुख्दो रहेछ। तर यी कुराले हामी कमजोर कदापि हुदैनौ। हामीलाई बिश्वास छ न्याय मरेको छैन।

न्याय ढिलो हुन सक्छ, तर अन्धो हुँदैन। सत्यलाई केही समय दबाउन सकिन्छ, तर सदाका लागि कैद गर्न सकिँदैन।

आज प्रश्न उठ्ला, आरोप लाग्ला, भ्रम फैलाइएला, तर भोलि यही सत्यले आफैं बोल्नेछ। इतिहासले कहिल्यै झुटको पक्ष लिँदैन।

हामी सत्ता र कुर्सीका लागि राजनीतिमा आएका होइनौँ। हामी जनताको आँसु, पीडा र सपना बोकेर यो यात्रामा होमिएका हौँ। यदि जनताको पक्षमा उभिनु अपराध हो भने, त्यो अपराध बारम्बार गर्न हामी तयार छौँ। किनकि जनताको विश्वास गुमाएर बचाइने पदभन्दा, जनताको मनमा बसेर गुमाइने पद हजार गुणा ठूलो हुन्छ।

अन्त्यमा यस कठिन र संवेदनशील घडीमा हामीलाई सान्त्वना दिनुहुने, हौसला प्रदान गर्नुहुने, सामाजिक सञ्जाल, फोन मार्फत र मौन समर्थनमार्फत साथ दिनुहुने सम्पूर्ण शुभचिन्तकहरू, आम राप्तीबासी दाजुभाइ दिदीबहिनीहरू, राजनीतिक सहयात्रीहरू, नागरिक समाज, बुद्धिजीवी, कानुन व्यवसायी र न्यायमा विश्वास राख्ने सबैप्रति हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु।तपाईंहरूको विश्वासले हामीलाई थाक्न दिएको छैन। सत्यको अवश्य जित हुनेछ।



प्रतिक्रिया दिनुहोस !