राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशकाे निर्वाचन अधिकृतमा प्रकाशराज पण्डित नियुक्त
दाङ (देउखुरी) । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउँदै सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । यससँगै जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी तोकिएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन व्यवस्थापनलाई निष्पक्ष र व्यवस्थित बनाउन न्यायिक पृष्ठभूमिका अधिकारीहरूलाई निर्वाचन अधिकृत नियुक्त गरिएको हो।
लुम्बिनी प्रदेशमा प्रकाशराज पण्डितलाई जिम्मेवारी
लुम्बिनी प्रदेशमा प्रकाशराज पण्डित निर्वाचन अधिकृत नियुक्त भएका छन् । प्रदेशमा राष्ट्रियसभाका रिक्त पदका लागि हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
यसले उम्मेदवार मनोनयन, नामावली प्रकाशनदेखि मतदानसम्मका सम्पूर्ण प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।
याेसँगै कोशी प्रदेशमा भीमराज प्रसाई, मधेशमा शुभनाथ पुरी, बागमतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई निर्वाचन अधिकृत ताेकिएकाे छ ।
आगामी फागुन २० गतेदेखि रिक्त १९ राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन हुँदैछ । निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते नामावली प्रकाशनदेखि प्रक्रिया सुरु भई पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ। मतदान भने सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
लुम्बिनीमा राजनीतिक सरगर्मी बढ्दै
लुम्बिनी प्रदेशमा निर्वाचन अधिकृत नियुक्त भएसँगै राजनीतिक दलहरू उम्मेदवार छनोट र रणनीति निर्माणमा सक्रिय हुन थालेका छन् ।
प्रदेशबाट राष्ट्रियसभामा जाने प्रतिनिधि चयन हुने भएकाले दलहरूबीच आन्तरिक छलफल र समीकरण तीव्र बन्दै गएको देखिन्छ ।
निर्वाचन आयोगको तयारी र समयतालिकाले राष्ट्रियसभा निर्वाचनलाई समयमै र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने आधार तयार भएको संकेत गरेको छ ।








