डा. अमर गिरीका कविता र निबन्धका दुई कृतिको दाङमा गृह विमोचन
दाङ । प्रगतिवादी साहित्यकार डा. अमर गिरीका दुई कृतिको बिहीबार दाङमा गृह विमोचन गरिएको छ । अध्ययन मञ्च दाङ र सर्वोदय पुस्तकालयको संयुक्त आयोजनामा ‘रातमा कलम’ कविता सङ्ग्रह र ‘समय, शब्द र संवाद’ निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो ।
सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा गुरुको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कृतिमाथि समीक्षात्मक चर्चा गरिएको थियो । विमोचित कविता सङ्ग्रहको समीक्षा डा. टीकाराम उदासीले र निबन्ध सङ्ग्रहको समीक्षा शशिधर भण्डारीले गरेका थिए ।
कविता सङ्ग्रहको समीक्षा गर्दै डा. उदासीले डा. गिरीका कवितामा समाज, प्रकृति, जीवन, दर्शन र वर्गसंघर्षका विषय सशक्त रूपमा समेटिएको उल्लेख गरे । उनका अनुसार गिरीका कविताले नेपाली समाजका भोगाइ र संघर्षलाई प्रतिनिधित्व गर्छन् ।
यसैगरी, निबन्ध सङ्ग्रह ‘समय, शब्द र संवाद’ को समीक्षा गर्दै शशिधर भण्डारीले डा. गिरीका निबन्धहरूको मूल हृदयतत्व विचारको सुस्पष्टता भएको बताए ।
विषय चयनमा सचेत र सीमाबद्धता, सिद्धान्तमा स्पष्ट पक्षधरता तथा चिन्तनमा गम्भीरता उनका निबन्धका प्रमुख वैशिष्ट्य भएको भण्डारीको भनाइ थियो ।
कला, कविता, साहित्यिक चिन्तन, समालोचना, प्रतिरोध–चेतना, सांस्कृतिक रूपान्तरण, बजारवाद र उपभोक्तावादजस्ता समसामयिक तथा बहुआयामिक विषयक्षेत्र समेटिएकाले यस सङ्ग्रहले नेपाली निबन्ध परम्परामा सशक्त वैचारिक हस्तक्षेप गर्ने विश्वास उनले व्यक्त गरे ।
डा. गिरीका यसअघि घाम छेक्ने पहाड, तर पनि हामी जीवित छौँ, दुःसाध्य समय, शब्दहरूका बीचमा र समय संवाद कविता सङ्ग्रहका साथै समय, समाज र संस्कृति, समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य, भूमण्डलीकरण र साहित्य, काव्य विमर्श, कवितामा वर्गद्वन्द्व आदि समालोचना कृति प्रकाशित छन् ।
अन्तर्ध्वनि , कलम, कविता, भृकुटी आदि पत्रिकाको सम्पादनसमेत गरेका डा. गिरीका दर्जनौं अनुसन्धानमूलक लेखहरु प्रकाशित छन् ।
कार्यक्रममा लेखक डा. अमर गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीले गरेका थिए ।








