११ पुस २०८२, शुक्रबार

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी सवार जिप दुर्घटना: चालकको मृत्यु, १६ घाइते

प्रकाशित मिति :  26 December, 2025 3:27 pm


काठमाडौँ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आज स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

दुर्घटना लु२च ५१७९ नम्बरको जिपलाई लिएर धनचौर–१० बाट नुवाकोटतर्फ जाँदै गर्दा नगरपालिका–७ छिर्लिङ खोला नजिक भएको थियो। दुर्घटनामा ४५ वर्षीय जिप चालक रुद्रबहादुर बुढामगर मृत्यु भएको छ।

घाइते सबै विद्यार्थीलाई अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ।

उनीहरू आजदेखि भूमिकास्थान नगरपालिकाले आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन गएका थिए।

नगरपालिकाले दुर्घटनापछि आजका प्रतियोगिताका सबै खेल स्थगन गरिएको जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !