११ पुस २०८२, शुक्रबार

अर्घाखाँचीको कम्युनमा प्रहरी छापाप्रति नेकपा (माओवादी) को आपत्ति

प्रकाशित मिति :  26 December, 2025 5:19 pm


दाङ (देउखुरी) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नम्बर ११ मा रहेको पार्टीको कम्युन तथा सर्वसाधारणका घरमा प्रहरीले छापा मारेको घटनाप्रति आपत्ति जनाएको छ ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड सी’ ले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त घटनाले पार्टीलाई गम्भीर बनाएको उल्लेख गरिएकाे छ ।

विज्ञप्तिमा सरकारले एकातिर शान्तिपूर्ण चुनावी वातावरण बनाउने प्रचार गरिरहेको भए पनि अर्कोतिर राजनीतिक दलसँग सम्बन्धित संरचना र सर्वसाधारणका घरमा छापा मारिनुले राज्य शान्तिपूर्ण निकासतर्फ प्रतिबद्ध नरहेको सन्देश जाने टिप्पणी गरिएको छ ।

नेकपा (माओवादी)ले यस्तो गतिविधिले देशलाई अशान्तितिर धकेल्ने मनसाय प्रस्ट भएको दाबी गर्दै प्रहरीको कारबाहीलाई ‘श्वेत आतङ्क’को संज्ञा दिएको छ । साथै, उक्त कदमको सशक्त भण्डाफोर र प्रतिरोध गर्न पार्टी पंक्तिलाई अपिल गरिएको छ।

विज्ञप्तिमार्फत् पार्टीले प्रहरीको कथित गैरकानुनी छापामारी र दमनको निष्पक्ष छानबिन गर्न मानवअधिकारवादी संस्थाहरूलाई आग्रह गरेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार, सुरक्षा निकायको यस्तो कदमले चुनावी विश्वास र नागरिक स्वतन्त्रतामाथि प्रश्न उठ्न सक्ने खतरा हुन्छ ।

उनीहरूका भनाइमा, राज्य र राजनीतिक दलबीच पारदर्शी संवाद र घटनाको सत्यतथ्य सार्वजनिक हुन सके मात्र बढ्दो तनाव कम गर्न सकिन्छ।



प्रतिक्रिया दिनुहोस !