मिडिया कूटनीतिमार्फत नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने प्रयास
तथ्यपरक र जिम्मेवार पत्रकारिताले दुई देशबीच आपसी विश्वास सुदृढ गर्छ-मुख्यमन्त्री आचार्य
लुम्बिनी । क्षेत्रीय कूटनीतिमा पत्रकारिताको भूमिकालाई केन्द्रमा राख्दै लुम्बिनीमा सुरु भएको तेस्रो लुम्बिनी न्यूज फेस्टिभलले नेपाल–भारत सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउने साझा मञ्चको काम गर्ने अपेक्षा गरिएको छ ।
फेस्टिभल उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिताले दुई देशबीचको आपसी विश्वास बलियो बनाउने स्पष्ट धारणा राखे ।
मुख्यमन्त्री आचार्यका अनुसार नकारात्मक र अपुष्ट सूचनाले सम्बन्ध कमजोर पार्न सक्छ भने सकारात्मक, तथ्यपरक समाचारले सहकार्य र सह–अस्तित्वलाई मजबुत बनाउँछ।
उनले पत्रकारितालाई केवल सूचना प्रवाहको माध्यम नभई “सम्बन्ध सुदृढ गर्ने कूटनीतिक शक्ति” का रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
फेस्टिभलले विशेषगरी मोफसल पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसमा ल्याउने अवसर सिर्जना गर्ने मुख्यमन्त्रीको विश्वास छ ।
नेपाल र भारत दुवै देशका पत्रकार, निजी क्षेत्र र सामाजिक–सांस्कृतिक क्षेत्रबीच सहकार्य बढे विकास र समृद्धिको साझा लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ।
पर्यटनलाई साझा सम्भावनाको क्षेत्रका रूपमा प्रस्तुत गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यले दुई देशबीच जनस्तरीय सम्बन्ध अझ नजिक ल्याउन सक्ने बताए ।
बुद्ध जन्मभूमि लुम्बिनीमा भइरहेको यस्ता संवाद र बहसले पर्यटन, संस्कृति र सामाजिक विकासमा नयाँ दृष्टि दिने उनको धारणा छ ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल र भारतमा कार्यरत पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डे, नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्यलगायतको उपस्थिति थियो।
फेस्टिभललाई समृद्धि र विकासतर्फको “कोसेढुंगा” का रूपमा व्याख्या गर्दै मुख्यमन्त्री आचार्यले यस्ता मिडिया–संवादले दीर्घकालीन क्षेत्रीय सहकार्यको आधार तयार गर्ने विश्वास व्यक्त गरे ।








