१३ पुस २०८२, आइतबार
लुम्बिनी बन्याे साक्षर प्रदेश

साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्दै लुम्बिनी-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  28 December, 2025 4:43 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने लक्ष्यसहित सरकारले प्राथमिकताका साथ काम अघि बढाउने बताएका छन् ।

आइतबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित लुम्बिनी प्रदेश साक्षर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाको संयुक्त प्रयासले साक्षर प्रदेश घोषणा सम्भव भएको उल्लेख गरेका हुन् । उनले साक्षरता दीगो बनाउन सबैको साझा जिम्मेवारी हुने स्पष्ट पारे ।

“घोषणा आफैंमा ठूलो कुरा होइन, साक्षरतालाई टिकाइराख्नु मुख्य विषय हो,” मुख्यमन्त्री आचार्यले भने, “अब हामी साक्षरबाट शिक्षित प्रदेशतर्फ छिट्टै अघि बढ्नुपर्छ । यससँगै प्रदेशलाई दुर्व्यसनमुक्त बनाउने अभियान पनि सशक्त रूपमा अघि बढाउन आवश्यक छ।”

नवयुवाहरू दुर्व्यसनमा फस्नु चिन्ताजनक रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले दुर्व्यसनमुक्त प्रदेश बनाउने विषयलाई साझा संकल्पका रूपमा अघि बढाउनुपर्ने धारणा राखे । प्रदेश सरकारले सामाजिक विकासलाई केन्द्रमा राख्दै नीति, कार्यक्रम र कानुन निर्माणमा जोड दिँदै आएको उनको भनाइ थियो।

प्रदेशमा साक्षरताको मापदण्ड पूरा भई १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेकाले लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको जानकारी दिइयो ।

प्रदेशभर पाँच हजार ७ सय २२ सामुदायिक बालविकास केन्द्र, चार हजार चार सय ३९ सामुदायिक विद्यालय, तीन विश्वविद्यालय, एक सय ८७ क्याम्पस र तीन सय २९ सामुदायिक सिकाइ केन्द्र सञ्चालनमा छन्। विद्यालय तहमा १२ लाख ४६ हजार २ सय ७२ विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदेशको शैक्षिक गुणस्तर वृद्धि गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले अझै विद्यालय बाहिर रहेका ४२ हजार विद्यार्थीलाई विद्यालय शिक्षामा ल्याउन सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो।

सभामुख तुलाराम घर्तीमगरले सामाजिक न्यायसँग जोडिएका ऐन निर्माण आवश्यक रहेको उल्लेख गर्दै भाषा, संस्कृति र सभ्यताको संरक्षणका लागि भाषा ऐन अपरिहार्य रहेको धारणा राखे । भौतिक संरचनासँगै बौद्धिक क्षेत्रमा पनि लगानी बढाउनुपर्ने उनको भनाइ थियो ।

पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साक्षरतालाई आयआर्जनसँग जोड्दै अभियानलाई अझ फराकिलो ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

सामाजिक विकास मन्त्री तिमिल्सिनाको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विश्वविद्यालयका उपकुलपति, प्रदेशका उच्च अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, शिक्षाविद् तथा विद्यार्थी प्रतिनिधिहरूले धारणा राखेका थिए ।

साक्षर प्रदेश घोषणा अभियानमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। कार्यक्रमको सहजीकरण उपसचिव ऋषिराज शर्मा र वरिष्ठ शिक्षा अधिकृत वेगम केसीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !