गढवामा अति विपन्नका लागि साझेदारीमा घर निर्माण : हस्तान्तरण तथा गृह प्रवेश
देउखुरी । गढवा गाउँपालिकामा अति विपन्न परिवारका लागि निर्माण गरिएका पक्की घरहरू केवल इँटा–सिमेन्टको संरचना होइनन्, ती असहाय जीवनमा फेरि उज्यालो फर्काउने आधार बनेका छन् ।
स्थानीय सरकार र गैरसरकारी संस्थाको साझेदारीमा सम्पन्न घर हस्तान्तरण तथा गृहप्रवेश कार्यक्रमले आवासीय सुरक्षासँगै आत्मसम्मान र भविष्यप्रतिको भरोसा पनि हस्तान्तरण गरेको छ ।
गढवा गाउँपालिकाको नेतृत्वमा, ग्रामीण महिला उत्थान केन्द्र र NIVAS संस्थाको साझेदारीमा सञ्चालित महिलामुखी आवासीय सशक्तिकरण परियोजना अन्तर्गत वडा नं. ४ र ५ का दुई परिवारले भूकम्प प्रतिरोधात्मक पक्की घर प्राप्त गरेका हुन् । करिब सात लाख रुपैयाँ लागतमा दुई कोठे घर र शौचालय निर्माण गरिएको जनाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलले विपन्न, एकल महिला, असहाय तथा अशक्त परिवारको पहिचान गरी वडाको सिफारिसमा घर निर्माण गरिएको बताउँदै, “यो घरले सुरक्षित बसोबास मात्र होइन, जीवनप्रतिको भरोसा पनि बलियो बनाएको छ,” भने ।
‘अब डर छैन’-घरभित्र पसेको ढुक्कपन
गढवा–४ कटियान गाउँकी प्रमिला चौधरीका लागि यो घरले वर्षा र चिसोबाट जोगाउने छानाभन्दा बढी अर्थ राख्छ। “पहिले हावा चल्दा छाना टुट्ला कि भन्ने डर थियो, अब छोराछोरी न्यानोमा सुत्छन्,” भन्दै उनले राहत र कृतज्ञता व्यक्त गरिन् ।
त्यस्तै, गढवा–५ कक्रहवाका जिवी बिकका शब्दमा, “जिन्दगीमै पक्का घर देख्न पाइयो भन्ने विश्वास नै ठूलो हो। अब फेरि बाँच्ने हिम्मत आएको छ ।”
महिला स्वामित्व र सुरक्षामा जोड
परियोजनाले महिलाको स्वामित्व, आवासीय सुरक्षा र भूमिमा पहुँच सुदृढ गर्ने उद्देश्य लिएको छ । कार्यक्रममा वडा नं. ४ का हरिभगत चौधरी र वडा नं. ५ का लेखबहादुर थापाले यस्तो सहकार्य निरन्तर हुनुपर्नेमा जोड दिए ।
ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आस्मानी चौधरीले “अब चुलोबाट धुवाँसँगै आशा पनि निस्कन्छ” भन्दै कार्यक्रमले महिलाको सुरक्षा र सशक्तिकरणमा ठोस प्रभाव पारेको बताइन् ।
गढवामा हस्तान्तरण भएका यी घरहरूले देखाएको सन्देश स्पष्ट छ-साझेदारीले सम्भव बनाएको सुरक्षित आवासले गरिबीको चक्र तोड्न मात्र होइन, आत्मविश्वास र भविष्यप्रतिको भरोसा पनि निर्माण गर्छ। यहाँ पक्की घर बनेका छन्, तर त्यससँगै जीवन पनि फेरिएको छ ।








