सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु : लौकही बजार तनावग्रस्त, अश्रु ग्यास प्रहार
सुनसरी । सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार क्षेत्र तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।
कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले केही सेल अश्रु ग्यास प्रहार गरिएको पुष्टि गर्दै भने, “स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रयोग गरिएको हो । अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको छ ।”
बिहीबार बिहान करिब १ बजे कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षिय विजय साहको मृत्यु भएको थियाे ।
उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्तीलगायतका सामग्री लिएर घर फर्किंदै गरेका बेला घर नजिकै सशस्त्र प्रहरीले गोली चलाएको बताइएको छ । साहलाई दुई राउण्ड गोली लागेको जनाइएको छ ।
घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन जारी राखेका छन् । प्रदर्शनकारीले शव सडकमा राखेर नाराबाजी गर्नुका साथै सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी र तोडफोडसमेत गरेका छन् । यसका कारण ठूला सवारीसाधन सञ्चालन ठप्प छ भने मोटरसाइकल मात्रै आवत–जावत भइरहेको छ ।
डीआईजी घिमिरेका अनुसार अवस्था साम्य बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै, अहिले सीडीओ कार्यालय मा वार्ताको तयारी भइरहेको र स्थानीयसँग संवादमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको उनले जानकारी दिए । स्थानीयले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।








