लगानीमैत्री वातावरण बिना समृद्धि सम्भव छैन-मुख्यमन्त्री आचार्य
बुटवल । चेतनारायण आचार्यले लगानीको वातावरण सुदृढ नबनेसम्म देश तथा प्रदेशको समृद्धिको लक्ष्य पूरा हुन नसक्ने स्पष्ट पारेका छन् ।
लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउन आवश्यक रहेको बताए ।
बुटवलमा सम्पन्न राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लगानीमैत्री नीति र व्यवहारबिना उन्नति, विकास र समृद्धि सम्भव नहुने धारणा राखे ।
“प्रदेश सरकारले लगानीको वातावरण निर्माणलाई गम्भीर रूपमा लिएको छ। उद्योगी–व्यवसायीले भोग्ने समस्या समाधानका लागि प्रदेश सरकार सधैं तयार छ,” उनले भने ।
मुख्यमन्त्री आचार्यले उद्योगी–व्यवसायीको मनोबल कमजोर बनाउने कार्य संघीय सरकारले गरिरहेको टिप्पणी गर्दै प्रदेश सरकारले भने निरन्तर उद्योगी–व्यवसायीको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गरे ।
विद्युत् कटौतीको विषयमा प्रदेश सरकारले पहिलोपटक खुलेर बोलेको स्मरण गराउँदै उहाँले प्रधानमन्त्री तथा अर्थमन्त्रीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराइसकेको जानकारी दिए ।
बुटवललाई आर्थिक हबको रूपमा विकास गर्न उद्योगी–व्यवसायीको योगदान आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सधैं उद्योगी–व्यवसायीको पक्षमा उभिने प्रतिबद्धता जनाए ।
“उद्योगी–व्यवसायीले भोग्ने कठिनाइ समाधान गर्न प्रदेश सरकार साथमै छ, सधैं अग्रणी मोर्चामा उभिएको छ,” उनले जोड दिए ।रुपन्देही उद्योग संघको आयोजनामा सम्पन्न समापन समारोह संघका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य विष्णु पन्थी, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइ, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहोरा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पुस ३ गतेदेखि सुरु भएको महोत्सवमा स्वदेशी उद्योगका उत्पादन समेटिएका ४५० व्यावसायिक स्टल रहेका थिए। महोत्सव अवधिभर करिब ८ लाख दर्शकले अवलोकन गरेको र करिब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको जानकारी समापन समारोहमा गराइएको थियो । कार्यक्रम महासचिव सुमन बस्यालको स्वागत मन्तव्यबाट सुरु भई सचिव अशोक कवरको सहजीकरणमा सम्पन्न भएको थियो।








