१८ पुस २०८२, शुक्रबार

बासुदेव घिमिरे–विष्णु पौडेल वन–टु–वन वार्ता : तत्काल पार्टी नछाड्ने समझदारी

प्रकाशित मिति :  2 January, 2026 7:16 am


रुपन्देही । नेकपा (एमाले) परित्यागको घोषणा गरेका विघटित प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरे र एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल बीच भएको वन–टु–वन वार्तामा तत्काल पार्टी नछाड्ने समझदारी बनेको छ ।

घिमिरेले सार्वजनिक रूपमा पार्टी छाड्ने घोषणा गरेपछि बढेको राजनीतिक तरंगलाई व्यवस्थापन गर्न उपाध्यक्ष पौडेल स्वयं पहल गरेर प्रत्यक्ष संवादमा बसेका हुन् ।

रुपन्देहीको योगिकुटीस्थित एक स्थानीय नेताको निवासमा भएको यो भेटलाई एमालेभित्र ‘ड्यामेज कन्ट्रोल’ को महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।

वार्तामा घिमिरेले पार्टी नेतृत्वबाट आफू उपेक्षित भएको, निर्णय प्रक्रियामा असन्तुष्टि र राजनीतिक योगदानको उचित मूल्यांकन नभएको गुनासो राखेका थिए ।

जवाफमा उपाध्यक्ष पौडेलले घिमिरेको भूमिकाको सम्मान गर्दै तत्काल निर्णय नगर्न आग्रह गरेका थिए । पार्टीभित्र संवादका ढोका खुला रहेको र समस्या समाधान खोज्न सकिने विश्वास दिलाइएको स्रोतको भनाइ छ ।

वन–टु–वन छलफलपछि दुबै नेताबीच ‘अहिलेलाई पार्टी परित्यागको निर्णय स्थगित गर्ने’ र थप आन्तरिक संवादमार्फत निकास खोज्ने समझदारी बनेको बताइएको छ ।

यही समझदारीपछि सचिव छविलाल विश्वकर्मा, नेता खिमलाल भट्टराई लगायतका नेताहरू सम्मिलित विस्तारित छलफल अघि बढाइएको थियो ।

घिमिरे निकट नेताहरूका अनुसार वन–टु–वन वार्ताले परिस्थिति केही नरम बनेको छ । यद्यपि घिमिरेले अन्तिम निर्णय भने पार्टीको आगामी व्यवहार र नेतृत्वको प्रतिबद्धतामै निर्भर रहने संकेत गरेका छन् ।

एमालेभित्र देखिएको यो संवाद प्रयासलाई आन्तरिक असन्तुष्टि समाधान गर्ने परीक्षणका रूपमा हेरिएको छ । आगामी दिनमा घिमिरे पार्टीमै रहने कि औपचारिक रूपमा अलग हुने भन्ने विषय थप छलफलपछि मात्रै टुंगो लाग्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !