१८ पुस २०८२, शुक्रबार

संरक्षक वन कार्यालयकै सामुन्ने सालमा आगाे दन्किरह्याे : कर्मचारी मुकदर्शक बनिरहे

प्रकाशित मिति :  2 January, 2026 7:24 am


दाङ (देउखुरी) । राप्ती गाउँपालिका–३, मसुरियास्थित राप्ती सव–डिभिजन वन कार्यालयकै अगाडि रहेको सालको रुखमा लागेको आगो पाँच घण्टासम्म सल्किरहँदा, स्थानीयको मनमा भने जिम्मेवारी र संवेदनशीलतामाथि गहिरो प्रश्न सल्कियो । वन कार्यालय नजिकै आगलागी हुँदा पनि प्रारम्भिक क्षणमै सक्रियता नदेखिएको भन्दै स्थानीयस्तरमा असन्तोष चर्किएको छ।

घटनाको सुरुवाती समयमा आगो निभाउने जिम्मा स्थानीय युवाहरू, प्रहरी र राप्ती गाउँपालिका को मिनी दमकलले सम्हाले। आगो रुखको भित्री भागसम्म पसिसकेको अवस्थामा नियन्त्रण लिन कठिन भएको उनीहरूको अनुभव छ। सालको रुख बीच भागबाट सुकेको र धोद्रो भएकाले आगो दबाउन समय लागेको बताइन्छ।

स्थानीयवासीका अनुसार, प्रदेश मन्त्रालय क्षेत्रभित्रबाट निस्कने फोहोर सोही क्षेत्रमा थुपारिँदै आएको थियो । अनुमानतः फोहोरमा लागेको आगो खेल्दाखेल्दै बालबालिकाबाट रुखमा सल्किएको हुन सक्छ ।

“फोहोर व्यवस्थापनमा समस्या भन्दै केही दिन घरमै वा कार्यालयमै राख्न भनिएको छ,” स्थानीयको गुनासो छ, “तर सार्वजनिक स्थानमा फालिने क्रम रोकिएको छैन।”

घण्टदेव सामुदायिक वन क्षेत्रभित्र पर्ने ती रुख वर्षौंदेखि संरक्षण गर्दै आएको बताउँदै युवा अभियन्ता प्रकाश शाहीले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरे ।

“यी रुख काठ मात्र होइनन्-यहाँ विभिन्न प्रजातिका चमेराहरूको बासस्थान पनि छ,” उनले भने, “संरक्षणको जिम्मा लिएका निकायको ढोकै अगाडि यस्तो हुनु दुःखद हो ।”

उनको अर्को प्रश्न अझै कडा छ-अनावश्यक मुद्दामा जनप्रतिनिधि तान्न सक्रिय हुने कार्यालय आफ्नै आँगनमा भएको आगलागीमा किन ढिलो देखियो ? “फोहोर फाल्न नदिनु पहिलो दायित्व हो,” उनी भन्छन्, “यसमा वन कार्यालयको पनि पहल देखिनुपर्थ्यो ।”

वन कार्यालयका कर्मचारीहरू भने फोहोरमा लागेको आगो निभाउन आफूहरू संलग्न भएको दाबी गर्छन् तर रुखभित्र आगो सल्किएको जानकारी ढिलो आएकोले अवस्था जटिल बनेको उनीहरूको स्वीकारोक्ति छ।

यो घटना एउटा रुखको आगलागीमा सीमित छैन। यसले फोहोर व्यवस्थापन, समन्वयको अभाव र जिम्मेवारी बोध जस्ता मुद्दालाई उजागर गरेको छ। आगो निभ्यो तर संरक्षणको संवेदनशीलता निभ्न नदिन अब कसले, कसरी पहल गर्ने ? यही प्रश्न मसुरियाको सालसँगै अझै धुवाँझैँ मडारिइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !