पिक्निक हिडेको बसको ठक्करबाट गुल्मीमा दुईजनाको मृत्यु
दाङ । पिकनिकका लागि विद्यार्थी बोकेर हिडेको बसको ठक्करबाट गुल्मीको मालिका गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनाले पिकनिकको उत्साह एकाएक शोकमा परिणत भएको छ।
लुम्बिनी प्रदेश ००ख ०३५५ नम्बरको बसले लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मालिका–६ का ३६ वर्षिय बसन्त अर्याल र ६० वर्षिया मनकला अर्यालको मृत्यु भएको हो । दुर्घटना मालिका–७ अर्जे राम्चेको ओरालो सडकखण्डमा भएको वडाध्यक्ष रेखाकुमार जिसीले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार ५ वर्षका अनुभव गिरी र पैदलयात्री मालिका–६ की स्थानीय शिक्षिका लिला अर्याल घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
स्थानीय सिद्ध इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीलाई वनभोज (पिकनिक) लिएर जाँदै गरेको बस विपरीत दिशाबाट आइरहेको मोटरसाइकलसँग ठोक्किएको थियाे । आफन्तका अनुसार मृतक मनकला अर्याल छोरीको उपचारका लागि नाति लिन बिहानै मोटरसाइकलमा निस्किएकी थिइन् ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बसलाई प्रहरीको नियन्त्रणमा लिइएको छ ।








