२१ पुस २०८२, सोमबार

अमेरिकी हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुनमाथि प्रश्न उठायो- एमाले

प्रकाशित मिति :  4 January, 2026 10:42 am


काठमाडौँ । नेकपा एमालेले भेनेजुएलामा भएको अमेरिकी कदमलाई केवल द्विपक्षीय विवादको विषय नभई अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र विश्व व्यवस्थामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गरेको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै, कुनै पनि सार्वभौम राष्ट्रका जननिर्वाचित राष्ट्रप्रमुखलाई अर्को देशको आदेशमा सैन्य हस्तक्षेप गरी नियन्त्रणमा लिनु संयुक्त राष्ट्रसंघको मूल भावना र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको उल्लेख गरेका छन् ।

उनका अनुसार यस्तो कदमले संयुक्त राष्ट्रसंघजस्ता विश्व संस्थाहरूको औचित्यमाथि नै प्रश्न खडा गरेको छ । ‘सैन्य बल प्रयोग गरेर जननिर्वाचित नेतृत्वमाथि कारबाही गर्ने अभ्यास आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन,’ उनको टिप्पणी छ ।

पोखरेलले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने घटनाले अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको भन्दै, यस विषयमा संयुक्त राज्य अमेरिकाभित्रै जिम्मेवार र गहिरो बहस आवश्यक रहेको धारणा राखेका छन् ।

एमालेको यस धारणा अनुसार, विश्व राजनीति शक्ति प्रदर्शनको माध्यम होइन, अन्तर्राष्ट्रिय नियम, परस्पर सम्मान र संवादको आधारमा अघि बढ्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस !