२१ पुस २०८२, सोमबार

बिपिसीको लापरबाहीका कारण स्याङ्जाको भीरकोटमा करेन्ट लागेर एक व्यक्ति गम्भीर घाइते

प्रकाशित मिति :  4 January, 2026 11:38 am


काठमाडाैँ । स्याङ्जाकाे भीरकोट नगरपालिकामा बुटबल पावर कम्पनी लिमिटेड (बिपिसी) को असावधानीपूर्ण विद्युत सेवा प्रवाहका कारण करेन्ट लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन्। वडा नम्बर ६ चापटारी गत पुस १२ गते (शनिबार) दिउँसो रूखको घाँस काट्ने क्रममा रूखमै विद्युत प्रवाह हुँदा ५६ वर्षीय मनि खनाललाई करेन्ट लागेको हो।

वडा नम्बर ६ का अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीका अनुसार दुर्घटनामा खनालको दाहिने खुट्टासहित शरीरका अन्य भागमा पनि गम्भीर चोट लागेको छ।

तत्काल भीरकोट नगर अस्पतालमा प्राथमिक उपचारपछि उनलाई पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको थियो। खुट्टा आंशिक रूपमा जलेको अवस्थामा थप उपचार आवश्यक परेपछि उनलाई काठमाडौँको कीर्तिपुर अस्पताल रेफर गरिएको पारिवारिक स्रोतले जनाएको छ।

स्थानीयवासीहरूले बिपिसीको स्वामित्वमा रहेको आँधिखोला जलविद्युत केन्द्रले ग्रामीण बस्तीमा रहेका ट्रान्समिसन लाइन आसपासका रूखहरू समयमै काँटछाँट नगर्दा यस्तो जोखिम बढेको बताएका छन्। ट्रान्समिसन लाइनसँग रूख ठोक्किने र त्यसमा करेन्ट प्रवाह हुने अवस्था लामो समयदेखि देखिँदै आएको उनीहरूको भनाइ छ। बिपिसीले भने जनशक्ति अभाव र स्थानीयको सहयोग नपाएको कारण देखाउँदै यस विषयमा पर्याप्त चासो नदिएको स्थानीयहरूको आरोप छ।

दुर्घटना र सम्भावित क्षतिपूर्तिको विषयमा आँधिखोला जलविद्युत केन्द्रका डोलप्रसाद खरेलले घटनाबारे जानकारी रहेको स्वीकार गरे। तर उपचार खर्च वा क्षतिपूर्ति उपलब्ध गराउने स्पष्ट कानुनी व्यवस्था नभएको उनको भनाइ छ।

यस घटनाले स्थानीय सरकार र सेवा प्रदायक दुवैको भूमिकामाथि प्रश्न उठाएको छ। विद्युतीय जोखिमबारे नागरिकलाई सचेत गराउने र सेवा प्रदायकसँग समन्वय गरी जोखिम न्यूनीकरण गर्ने काममा स्थानीय तह सक्रिय देखिँदैन।

अझै पनि नेपाल विद्युत प्राधिकरण र बिपिसीले ग्रामीण क्षेत्रमा रूखमै कालोतार टाँगेर विद्युत सेवा दिइरहेको अवस्था रहेको स्थानीयहरूको गुनासो छ। घटनाबारे प्रहरीले समेत औपचारिक रूपमा सार्वजनिक नगरेको बताइएको छ।

नेपालमा विद्युतीय सुरक्षासम्बन्धी छुट्टै कानून नभए पनि विद्युत् नियमावली २०५० ले केही मापदण्ड तोकेको छ।नियमावलीअनुसार २३०\४०० भोल्टका लाइनहरू सडक वारपार गर्दा कम्तीमा ५.८ मिटर, सडक छेउमा ५.५ मिटर र पैदल यात्री वा ग्रामीण सडक भएका स्थानमा ४.६ मिटर उचाइ कायम गर्नुपर्ने व्यवस्था छ।

तर स्थानीयका अनुसार कतिपय स्थानमा उफ्रेरै छुने सकिने गरी नाङ्गा तारहरू झुन्डिएको अवस्था छ। त्यस्तै २३०/४०० भोल्टदेखि ११ केभीसम्मका लाइनका दायाँबायाँ कम्तीमा १.२५–१.२५ मिटर खुला स्थान हुनुपर्ने भए पनि सेवा प्रदायकहरूले त्यसको पालना नगरेको देखिन्छ।



प्रतिक्रिया दिनुहोस !