लुम्बिनीबाट एमालेका ‘हाइप्राेफाइल’ का नेताहरूकाे नाम एकल सिफारिस
दाङ । नेकपा (एमाले) ले का हाइप्राेफाइलका नेताहरू धमाधम एकल एकल सिफारिस भइरहेका छन् ।
लुम्बिनी प्रदेशका रुपन्देही, दाङ र गुल्मीलगायतका जिल्लाबाट हाइप्रोफाइल नेताहरूलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेका छन् ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र पूर्व उपमहासचिव एवम् केन्द्रीय सदस्य प्रदिप ज्ञवालीकाे नाम पनि एकल रूपमा सिफारिस भएकाे छ ।
रुपन्देही क्षेत्र नं. २ बाट एमालेका केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेललाई क्षेत्रीय कमिटीले सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गरेको छ ।
एमाले रुपन्देही–२ का क्षेत्रीय सहसंयोजक राजेन्द्र ढकालका अनुसार लामो समयदेखि यसै क्षेत्रबाट निर्वाचन जित्दै आएका पौडेलको अनुभव, पहुँच र विकासका कामलाई आधार मानेर बैठकले एकल रूपमा नाम केन्द्रमा पठाउने निर्णय गरेको हो । पौडेल २०५६ सालदेखि निरन्तर उम्मेदवार रहँदै आएका छन् भने २०६४ सालयता लगातार विजयी हुँदै आएका छन् ।
त्यसैगरी दाङ क्षेत्र नं. २ बाट एमाले महासचिव शंकर पोखरेललाई पनि एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । क्षेत्रीय समन्वय समितिको बैठकले पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारि गरिएको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए । पोखरेलको गृह क्षेत्र भएकाले संगठन, कार्यकर्ता र स्थानीय तहमा बलियो समर्थन रहेको एमालेले जनाएको छ ।
यससँगै एमालेले लुम्बिनी प्रदेशका अन्य क्षेत्रमा पनि एकल सिफारिसको अभ्यासलाई अघि बढाएको छ । गुल्मी–१ बाट प्रदीप ज्ञवाली, कपिलवस्तु–१ बाट विश्रामप्रसाद चौधरी, बाँके–१ बाट सूर्य ढकाल र बाँके–३ बाट दलबहादुर सुनारलाई एकल रूपमा सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ ।
पार्टीका प्रभावशाली र अनुभवी नेताहरूलाई एकल सिफारिसमा अघि सारिनुले एमालेले जितको सम्भावना, संगठनात्मक एकता र नेतृत्वको निरन्तरतालाई प्राथमिकतामा राखेको सन्देश दिएको छ ।








