एमालेले टुंग्यायो जिल्ला इञ्चार्ज : यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्ला इन्चार्ज
काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेशनपछि संगठनात्मक संरचना मजबुत बनाउने क्रममा लुम्बिनी प्रदेश र प्रदेशका १२ जिल्लामा इन्चार्ज तोकेको छ ।
प्रदेशस्तरदेखि जिल्लासम्म अधिकांश ठाउँमा अनुभवी र पुरानै अनुहारलाई निरन्तरता दिइएको छ भने केही जिल्लामा नयाँ जिम्मेवारीसहित नयाँ नेतृत्वलाई अघि सारिएको छ ।
लुम्बिनी प्रदेश इन्चार्जमा यसअघि पनि जिम्मेवारी सम्हाल्दै आएकी सचिव पद्मा अर्याल लाई पुनः निरन्तरता दिइएको छ । पार्टी स्रोतका अनुसार अन्य प्रदेशको इन्चार्ज टुंगो मंगलबार दिउँसै लागे पनि लुम्बिनीका केही जिल्लामा आकांक्षीको दाबी बढी भएकाले निर्णयमा ढिलाइ भएको हो ।
जिल्ला इन्चार्जको सूचीमा रुपन्देहीबाट खिमलाल भट्टराई, प्यूठानबाट सूर्य थापा, दाङबाट नरुलाल चौधरी र बाँकेबाट शान्तिदेवी ढकाल चयन भएका छन् ।
त्यसैगरी, नवलपरासीमा सरिता भुसाल (खनाल), कपिलवस्तुमा बलराम अधिकारी, अर्घाखाँचीमा बोमबहादुर किश्वकर्मा, गुल्मीमा जंगबहादुर नेपाली, रुकुम पूर्वमा खेममान खड्का, रोल्पामा गोकुल घर्ती, बर्दियामा खड्कबहादुर खड्का र पाल्पामा ठाकुर गैरेलाई इन्चार्जको जिम्मेवारी दिइएको छ।
पार्टी नेताहरूका अनुसार, आगामी निर्वाचन र संगठन सुदृढीकरणलाई ध्यानमा राख्दै लुम्बिनीमा अनुभव र निरन्तरतासँगै सन्तुलित रूपमा नयाँ प्रयोग गरिएको हो। महाधिवेशनपछिको यो निर्णयले प्रदेशस्तरमा आन्तरिक शक्ति सन्तुलन कायम राख्ने र संगठनलाई चुनावमुखी बनाउने सन्देश दिएको विश्लेषण गरिएको छ।






