२४ पुस २०८२, बिहिबार

राष्ट्रिय सभा निर्वाचन : अपाङ्गता क्लस्टरबाट दाङका बाशुदेव जङ्गली उम्मेदवार

प्रकाशित मिति :  7 January, 2026 11:28 am


दाङ । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा बासुदेव जंगली घिमिरेलाई उम्मेदवार बनाउने निर्णयसँगै पार्टीको आन्तरिक शक्ति सन्तुलन र रणनीतिक प्राथमिकता स्पष्ट संकेत गरेको छ ।

अपाङ्गता क्लस्टरमार्फत घिमिरेलाई अघि सार्नु कांग्रेसका लागि केवल उम्मेदवार चयन नभई पार्टीभित्रको गुट व्यवस्थापन र क्षेत्रीय सन्तुलनको अभ्यासका रूपमा हेरिएको छ ।

दाङको लमही–१ निवासी घिमिरे कांग्रेसका अनुभवी नेता हुन् । यसअघि सो क्षेत्रको क्षेत्रीय सभापति भइसकेका उनी संगठन निर्माणमा सक्रिय रहँदै आएका छन् ।

राजनीतिक यात्रामा पहिले खुमबहादुर खड्का निकट मानिएका घिमिरे पछिल्लो समय कांग्रेस नेता शेखर कोइरालासमूहसँग नजिक देखिँदै आएका छन्। यही पृष्ठभूमिले उनको उम्मेदवारीलाई गुटीय पुनर्संयोजनको संकेतका रूपमा समेत हेरिएको छ।

मंगलबार राति अबेरसम्म घिमिरेको नाममा सहमति जुट्न नसक्दा कांग्रेसभित्र लुम्बिनीको अपाङ्गता क्लस्टर कसले लिने भन्ने विषय पेचिलो बनेको थियो । तर अन्ततः सहमति जुटेपछि कांग्रेसले सुरक्षित र अनुभवी अनुहारलाई अघि सार्ने निर्णय गरेको बुझिन्छ ।

घिमिरेले उम्मेदवारी मनोनयनका लागि घोराही जाँदै गरेको जानकारी दिँदै आफू पार्टीको निर्णयअनुसार अघि बढ्ने बताएका छन्।

लुम्बिनी प्रदेशमा कांग्रेस र एमाले दुवै बलियो मतभार भएको अवस्थामा अपाङ्गता क्लस्टरको उम्मेदवार चयन निर्वाचन जितको महत्वपूर्ण कडी मानिन्छ।

त्यसैले कांग्रेसले संगठनमा लामो योगदान दिएका, स्थानीय रूपमा चिनिएका र पार्टीभित्र सन्तुलन मिलाउन सक्ने पात्रलाई रोजेको विश्लेषण गरिएको छ।

राष्ट्रिय सभा निर्वाचन नजिकिँदै गर्दा कांग्रेसको यो निर्णयले लुम्बिनीमा दलभित्रको सहमति राजनीति र व्यावहारिक चुनावी रणनीतिलाई प्राथमिकतामा राखिएको सन्देश दिएको छ। अब ध्यान निर्वाचनको अंकगणित र साना दलहरूको भूमिकातर्फ केन्द्रित हुँदै जाने देखिन्छ।



प्रतिक्रिया दिनुहोस !