२४ पुस २०८२, बिहिबार

दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाकाे तयारी अन्तिम चरणमा

प्रकाशित मिति :  7 January, 2026 9:46 pm


दाङ । दाङको घोराहीमा आयोजना हुने दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।

घोराही–१४ स्थित ट्राफिक चोक नजिकैको गोर्खा टोलमा आयोजना हुने मेलाको करिब ८० प्रतिशत तयारी सम्पन्न भइसकेको आयोजक समितिले जनाएको छ ।

मेलाको प्रमुख विशेषताका रूपमा हरेक दिन राष्ट्रिय एवम् स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ । झाँकी प्रदर्शनसहित विविध मनोरञ्जनात्मक कार्यक्रमले मेलालाई दिनहुँ जीवन्त बनाउने तयारी गरिएको छ।

यसैगरी, स्थानीय व्यवसायीलाई प्राथमिकता दिँदै घोराहीभित्रका व्यवसायीलाई स्टल शुल्कमा ५० प्रतिशत छुटको सहुलियत उपलब्ध गराइएको नगर अध्यक्ष बेदबहादुर बुढाले जानकारी दिए । स्थानीय उत्पादन र व्यवसाय प्रवर्द्धनलाई केन्द्रमा राखेर स्टल व्यवस्थापन गरिएको उनको भनाइ छ ।

मेलाका सञ्चार संयोजक कैलाश घर्ती मगरका अनुसार भोलिसम्म सम्पूर्ण तयारी पूरा हुनेछ भने पर्सि मेलाको औपचारिक उद्घाटन गरिनेछ । संरचना निर्माण, स्टल व्यवस्थापन, मञ्च सजावट र सरसफाइका कामहरू अन्तिम चरणमा पुगेका छन् ।

मेलामा स्थानीय संस्कृति, परम्परागत भेषभूषा, मौलिक खानाका परिकार, हस्तकला तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनी रहनेछ । साथै आइफेल टावर, जलपरी र लण्डन ब्रिज जस्ता संरचनाहरू मुख्य आकर्षण रहनेछन् ।

प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैयाँ तोकिएको छ। क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि ८० रुपैयाँ र ५ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

स्थानीय पर्यटन प्रवर्द्धन, कला–संस्कृतिको संरक्षण र आर्थिक गतिविधि बढाउने उद्देश्यले आयोजना गरिएको मेलामा उपस्थित भई अवलोकन तथा सहभागिताका लागि नेपाल मगर सङ्घ दाङ जिल्ला समन्वय समिति र घोराही उपमहानगर समिति ले सबैमा हार्दिक निम्तो गरेका छन् ।

नेपाल मगर सङ्घ दाङ जिल्ला समन्वय समिति संरक्षक रहेकाे मेलाकाे आयाेजक घोराही उपमहानगर समिति रहेकाे छ । माघ १० गतेसम्म सञ्चालन हुने मेलामा डान्स आइडल, टिकटक प्रतियाेगीता र दाेहाेरी प्रतियाेगीताकाे आयाेजनासमेत हुनेछ ।



प्रतिक्रिया दिनुहोस !