२५ पुस २०८२, शुक्रबार

बस दुर्घटना हुँदा काठमाडाैँमा ५ जनाकाे मृत्यु

प्रकाशित मिति :  8 January, 2026 11:39 am


काठमाडाैँ । काठमाडौँको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा घाइते भएका ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा प्रारम्भिक रूपमा तीन महिला र दुई पुरुषको मृत्यु भएको थियो । थप उपचारका क्रममा गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षिय अर्जुन लामिछानेको गएराति साढे १२ बजे मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार दुर्घटनामा यसअघि बाँकेको कोहलपुर नगरपालिका–५ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षिया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका–७ बस्ने ५१ वर्षिया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षिया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ भने घाइतेहरूको अवस्था र उपचारबारे थप विवरण संकलन भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !