२५ पुस २०८२, शुक्रबार

राप्ती गाउँपालिकाको आठौँ अधिवेशनमा तीन महत्वपूर्ण विधेयक पेश

प्रकाशित मिति :  8 January, 2026 3:03 pm


लक्ष्मी पाेखरेल,
दाङ (देउखुरी) ।
राप्ती गाउँपालिकामा नीति निर्माण र सुशासनलाई केन्द्रमा राख्दै दोस्रो गाउँसभाको आठौँ अधिवेशन बिहीबारदेखि सुरु भएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सुरु भएको अधिवेशनमा आर्थिक व्यवस्थापन, स्थानीय व्यवसाय दर्ता, कर्मचारी सेवा–सुविधा र सामाजिक समावेशीकरणसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पेश गरिएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको रकमान्तर प्रस्ताव, २०८२ सभामा पेश गरेकी छिन् ।

त्यसैगरी, सभाका सदस्य तथा आर्थिक विकास समिति संयोजक गेमे खड्काले राप्ती गाउँपालिकाको व्यवसाय दर्ता विधेयक, २०८२ र सभा सदस्य तथा सुशासन विकास समिति संयोजक देवप्रसाद चौधरीले कर्मचारीहरूको सेवा, सुविधा तथा शर्त सम्बन्धी राप्ती गाउँपालिकाको करार सेवा विधेयक, २०८२ पेश गरेका छन् ।

अधिवेशनको पहिलो बैठकमै चालु आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तथा कार्यक्रम संशोधन (रकमान्तर) प्रस्ताव पेश भएसँगै गाउँपालिकाको वित्तीय व्यवस्थापनलाई थप व्यवस्थित बनाउने संकेत देखिएको छ । यससँगै स्थानीय तहभित्र व्यवसाय दर्तालाई कानुनी दायरामा ल्याउने उद्देश्यले व्यवसाय दर्ता विधेयक प्रस्तुत गरिएको छ ।

कर्मचारी व्यवस्थापनलाई स्पष्ट र पारदर्शी बनाउने उद्देश्यले करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा, सुविधा तथा शर्तसम्बन्धी विधेयक पेश गरिएको छ भने सामाजिक न्याय र समावेशीतालाई बलियो बनाउने लक्ष्यसहित दलित सशक्तिकरणसम्बन्धी विधेयक पनि सभामा दर्ता गरिएको छ । यी सबै विधेयकहरू आगामी बैठकमा विस्तृत छलफलपछि निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ ।

अधिवेशनको शून्य समयमा सभासद्हरूले विकास निर्माण, सेवा प्रवाह, रोजगारी र जनजीविकासँग जोडिएका स्थानीय समस्या उठाउँदै समाधानमुखी सुझाव राखेका थिए ।

गाउँपालिका अध्यक्ष विष्टले स्थानीय सरकारको प्राथमिकता सुशासन, विकास र नागरिकको जीवनस्तर उकास्नु रहेको उल्लेख गर्दै त्यसका लागि नीतिगत सुधारलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । गाउँसभाको आगामी बैठकको मिति केही दिनभित्र सूचना जारी गरेर सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !