२५ पुस २०८२, शुक्रबार

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्रकाशित मिति :  9 January, 2026 3:45 pm


दाङ । जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा आज बिहान भित्री सडकमा चलिरहेको डबल क्याब बोलेरो जिप ब्रेक फेल भई करिब १५० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो भने चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार छेडागाड–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको जिप दुर्घटनामा परेको हो ।

मृतकमा छेडागाड–९ पजारुकी ७० वर्षिया नन्दकला अधिकारी र २८ वर्षिय राजु अधिकारी छन् । जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले घटनास्थलमै दुवैको ज्यान गएको पुष्टि गरे ।

दुर्घटनामा परेर छेडागाड–९ का २४ वर्षिय कृष्ण अधिकारी, वडा नं ८ की २० वर्षिया लक्ष्मी खत्री, वडा नं ९ का ३९ वर्षिय बीरबहादुर रोकाय तथा नौमुले गाउँपालिका–६ की २३ वर्षिया शीतला रावत घाइते भएका छन्। उनीहरूको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको छ।

स्थानीयवासीहरूले भित्री सडकहरू साँघुरा, उकालो–ओरालो र नियमित मर्मत नहुँदा यस्ता दुर्घटना दोहोरिने गरेको गुनासो गरेका छन्। प्रहरीका अनुसार दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !