२७ पुस २०८२, आइतबार

आज पृथ्वी जयन्ती : इतिहास स्मरणसँगै आजको नेपालका लागि एकताको सन्देश

प्रकाशित मिति :  11 January, 2026 8:09 am


काठमाडौँ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

विसं १७७९ मा जन्मिएका शाहको स्मृतिमा आयोजना गरिने पृथ्वी जयन्ती केवल ऐतिहासिक सम्मानको दिवस मात्र नभई आजको बदलिँदो राजनीतिक र सामाजिक सन्दर्भमा राष्ट्रिय एकता, स्वाधीनता र जिम्मेवारीबोधको पुनःस्मरणको अवसरका रूपमा लिइँदैछ ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहप्रति सम्मान प्रकट गर्न आज सधैँझैँ प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पश्चिम ढोका अगाडि रहेको उनको सालिकमा पुष्पहार अर्पण गरिनेछ ।

साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका अवसरमा चियापान समारोह आयोजना गर्दै प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरेको छ ।

शाहको जन्मस्थल गोरखामा हरेक वर्षझैँ यस वर्ष पनि पृथ्वी जयन्ती विशेष कार्यक्रमका साथ मनाइँदैछ । उता नेपाली सेनाले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको शालिकमा माल्यार्पण गरी सम्मान प्रकट गरेको छ।

इतिहासका पानामा सीमित देखिने पृथ्वीनारायण शाहको योगदान आज पनि समसामयिक बहससँग जोडिएको छ । बाइसे–चौबीसे राज्यमा विभक्त तत्कालीन नेपाललाई एकीकृत गर्दै उनले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको बलियो आधार तयार गरे ।

यही कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एकको रूपमा स्थापित रहन सफल भएको इतिहासकारहरूको ठम्याइ छ। २० वर्षको उमेरमै गद्दीआरोहण गरेका शाहले आन्तरिक तथा बाह्य चुनौतीबीच एकीकरण अभियान सञ्चालन गर्दै १८३१ सालमा ५२ वर्षको उमेरमा जीवनयात्रा समाप्त गरेका थिए ।

पृथ्वी जयन्ती आज केवल विगतको गौरव सम्झिने दिनमा सीमित छैन। ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने शाहको दिव्योपदेश आजको सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको बहसमा अझ सान्दर्भिक बनेको छ ।

त्यस्तै, नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’को संज्ञा दिँदै भूराजनीतिक सचेतनाको सन्देश दिएका शाहका विचार वर्तमान अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा समेत अर्थपूर्ण देखिन्छन् ।

यो दिवसले साझा इतिहास, संस्कृति र पहिचानलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई बलियो बनाउने प्रेरणा दिन्छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी नेपाल निर्माणको आधार हो भन्ने सन्देश पृथ्वी जयन्तीले पुनः दोहोर्याउँछ ।

विशेषतः युवापुस्तामा मातृभूमिप्रति समर्पण, सेवा र जिम्मेवारीको भावना विकास गराउन यस दिवसको महत्व अझ गहिरो रहेको विश्लेषकहरू बताउँछन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गर्दै राष्ट्रनिर्माताको योगदान स्मरण गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !