भारतकाे हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाकाे मृत्यु
दाङ । वैदेशिक रोजगारीले जीवन सुरक्षित बनाउने आशामा परदेशिएका नेपाली परिवारका लागि भारतको हिमाचल प्रदेशको सोलान जिल्लाबाट आएको खबरले देश नै स्तब्ध बनाएको छ । मजदुरीका लागि भारत पुगेका सल्यानका दुई परिवारका नौ सदस्यको एकैपटक ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ ।
भारतको सोलान जिल्लामा आइतबार राति करिब २ बजे सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर विस्फोट भई आगलागी हुँदा सिद्धकुमाख गाउँपालिकाका स्थायी बासिन्दा रहेका नौ नेपालीको मृत्यु भएको हो । उनीहरू करिब दुई वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीका अनुसार विस्फोट अत्यन्तै भीषण भएकाले उनीहरूलाई ज्यान जोगाउने मौका नै मिलेन । आगलागीपछि घटनास्थलको अवस्था अत्यन्तै दर्दनाक बनेको थियो ।
मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–२ टाकुराका ३३ वर्षिय धनबहादुर विक, उनकी ३२ वर्षिया श्रीमती कविता विक, छोरीहरू राधा (१६) र रेणुका (१०) तथा २२ महिनाका छोरा राजन विक रहेका छन् । यस्तै, सोही गाउँका काशीराम विक (४६), उनकी श्रीमती टीका विक (३२), छोरी अनु (११) र छोरा किरण (७) को पनि मृत्यु भएको छ ।
प्रहरीका अनुसार हालसम्म पाँच जनाको शव फेला परेको छ भने बाँकीको खोजी कार्य जारी छ । घटनास्थलमा भारतीय स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धार तथा अनुसन्धान गरिरहेका छन् ।
एकै गाउँका नौ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका शोकमा डुबेको छ । वडा नम्बर २ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार उनीहरूको मृत्यु २७ गते नै आगलागीमा भएको भए पनि पहिचान ढिलो खुलेको थियो । सामूहिक शोकको संकेतस्वरूप आज वडा कार्यालय, वडा भित्रका सामुदायिक विद्यालय तथा सरकारी कार्यालयमा शोक बिदा दिइएको छ ।
यो घटनाले रोजगारीको अभावले परदेशिन बाध्य नेपाली परिवारले भोग्नुपरेको जोखिम र असुरक्षालाई पुनः उजागर गरेको छ । जीवन सुधार्ने सपना बोकेर विदेशिएका परिवारका सदस्यहरूका लागि सुरक्षित बसोबास र न्यूनतम सुरक्षा मापदण्ड कति कमजोर छन् भन्ने प्रश्न फेरि उठेको छ ।








