१ माघ २०८२, बिहिबार

माघी पर्व : सांस्कृतिक विविधतालाई विकाससँग जोड्ने लुम्बिनी प्रदेश सरकारको जोड

प्रकाशित मिति :  15 January, 2026 7:29 am


दाङ । लुम्बिनी प्रदेश सरकारले मौलिक संस्कृति र परम्परालाई संरक्षण मात्र होइन, त्यसलाई आर्थिक समृद्धिसँग जोडेर अघि बढाउने नीति अवलम्बन गरिरहेको बताएको छ ।

माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै चेतनारायण आचार्यले सांस्कृतिक विविधतामा निहित सम्भावनालाई प्रदेशको शक्ति भएको उल्लेख गरेका हुन् ।

मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको प्रदेश हो, जहाँ थारु, मगर, यादवलगायत विभिन्न समुदायका मौलिक पर्व, चालचलन र संस्कृतिहरूले सामाजिक एकता कायम गरिरहेका छन्। विशेषतः थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने माघ पर्वले समुदायगत पहिचान मात्र होइन, सामाजिक सम्बन्ध सुदृढ गर्न समेत योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ।

उनले प्रदेश सरकारले मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै समुदायको आर्थिक सशक्तिकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइरहेको जानकारी दिए ।

“संस्कृतिको संरक्षण केवल भावनात्मक विषय होइन, यसले रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र बलियो बनाउने आधार तयार गर्छ,” सन्देशमा उल्लेख छ।

मुख्यमन्त्री आचार्यले मौलिकता जोगाउन नसके नेपालीपनको पहिचान नै कमजोर हुने चेतावनी दिँदै संस्कृति र परम्पराको संरक्षण राज्य मात्र होइन, समाजका सबै पक्षको साझा दायित्व भएको स्पष्ट पारे । साथै, माघ पर्वले आपसी सद्भाव, सहकार्य र एकताको भावना अझ प्रगाढ बनाओस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !