१६ बैशाख २०८१, आइतबार

रोल्पा: विद्यालयमा मगर खाम भाषा कक्षा सञ्चालन गर्ने गाउँपालिकाको योजना

प्रकाशित मिति :  26 June, 2020 3:06 pm


रोल्पा, १२ असार ।

रोल्पाको सुनछहरी गाउँपालिकाले मगर खाम भाषालाई विद्यालयमा औपचारिक पठनपाठनका लागि  तयारी सुरु गर्ने भएको छ ।

आर्थिक वर्ष ७७/७८ को नीति तथा कार्यक्रममा मगर खाम भाषाबाट प्राथमिक तहसम्मको विद्यालय सञ्चालनका लागि नीति योजना बनाई कार्यान्वयन गर्ने उल्लेख गरेकोको गाँउपालिकाले त्यसै अनुसार बजेट पनि विनियाजन गरेको गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष पुनले नयाँ आर्थिक वर्षमा मगर खाम भाषा कक्षा सञ्चालनका लागि अध्ययन गर्ने गरि बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनले भने,‘विद्यालय तहमा मगर खाम भाषा सञ्चालन गर्ने हाम्रो योजना छ तर यस वर्ष अध्ययन गरेर अर्को वर्षदेखि सञ्चालन गर्ने लक्ष्य छ । ’ गाँउपालिकाले खाम भाषाको कक्षा सञ्चालनका लागि भाषा विज्ञहरुसँग छलफल गर्ने र स्थानीय तहमा समेत बहस चलाउने भएको छ ।

अध्यक्ष पुनले भने,‘गाउँपालिकाले एउटा समिति बनाउछ र समितिले स्थानीय तहमा पनि छलफल गर्ने छ भने केन्द्रीय स्तरमा रहेका भाषा विज्ञसँग पनि छलफल गर्नेछ । ’

गाउँपालिकाले विभिन्न ठाँउमा सञ्चालन भएका मातृभाषा कक्षाको पनि अध्ययन र भ्रमण गर्ने छ । राष्ट्रिय जनगणना अनुसार सुनछहरी गाउँपालिकामा नेपाली भाषापछि मगर/खाम भाषा बोल्नेको संख्या धेरै छ ।

नेपाली भाषालाई मातृ भाषाका रुपमा बोल्ने संख्या ५० दशमलव ७६ प्रतिशत छ भने मगर भाषा ४२ दशमलव ७१ र खाम भाषा बोल्ने ६ दशमलव १३ प्रतिशत छ । तर, जनसंख्याको हिसाबले मगर समुदायको संख्या ७० दशमलव २८ प्रतिशत छ ।



प्रतिक्रिया दिनुहोस !