२ माघ २०८२, शुक्रबार

आयोगको निर्णयविरुद्ध देउवा पक्ष आक्रामक : कानुनी र राजनीतिक संघर्षको घोषणा

प्रकाशित मिति :  16 January, 2026 8:40 pm


काठमाडौँ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएसँगै पार्टीभित्रको विवाद थप चर्किएको छ । आयोगको निर्णयलाई अस्वीकार गर्दै शेरबहादुर देउवा पक्षले यसलाई षड्यन्त्रपूर्ण र प्रक्रियागत रूपमा त्रुटीपूर्ण भएको आरोप लगाएको छ ।

देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय पूर्वनियोजित ‘सेटिङ’का आधारमा आएको दाबी गर्दै कानुनी र राजनीतिक दुवै मोर्चाबाट लडाइँ लड्ने घोषणा गरेका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै खड्काले आयोगले एकपक्षीय दाबीका आधारमा निर्णय गरेको आरोप लगाए । “हामी वैधानिक कानुनी लडाइँ सबै लड्छौं । यो निर्णय धेरै समयअघिदेखि नै सेटिङ भएको चर्चा थियो, हामी त्यही षड्यन्त्र चिर्दै आएका छौं,” उनले भने, “एक पक्षको दाबीलाई मात्रै आधार मानेर गरिएको निर्णय प्रक्रियागत रूपमा गम्भीर त्रुटीपूर्ण छ ।”

उनले निर्वाचन आयोगले आफूहरूले दाबी गरेको आधिकारिक रूपमा निर्वाचित समितिलाई एकपटक पनि नबोलाई निर्णय गरेकोप्रति गहिरो असन्तुष्टि जनाए । आयोगले सबै पक्षलाई समान रूपमा सुन्नुपर्ने संवैधानिक दायित्व पूरा नगरेको खड्काको भनाइ छ ।

निर्वाचन आयोगले शुक्रबार साँझ विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई वैधानिकता दिएको थियो । तर आयोगको उक्त निर्णयले कांग्रेसभित्रको विवाद टुंग्याउनेभन्दा पनि थप कानुनी र राजनीतिक संघर्षतर्फ धकेलेको विश्लेषण हुन थालेको छ । अब देउवा पक्षको कानुनी कदमले यो विवाद अदालतसम्म पुग्ने संकेत देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !