एमाले महासचिव शंकर पोखरेलले गरे दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता
दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा झाँकी, जुलुस र बाजागाजासहित पुगेका पोखरेलले मनोनयन दर्ता गराउँदै चुनावी प्रतिस्पर्धामा आफ्नो उपस्थिति दह्रो बनाएका हुन् ।
उनको उम्मेदवारीका प्रस्तावक केन्द्रीय सल्लाहकार परिषद् सदस्य सम्भु गौतम रहेका छन् भने समर्थकमा लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य छन् ।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पोखरेलले आफ्नो उम्मेदवारी व्यक्तिगत लाभका लागि नभई देश र जनताको सेवाका लागि भएको बताए। दाङको विकाससँगै समग्र मुलुकको समृद्धिमा आफू निरन्तर प्रतिबद्ध रहने उनको भनाइ थियो ।
राजनीतिक यात्रामा उतार–चढाव भोग्दै आएका पोखरेलले २०५१ सालको निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट काँग्रेसका स्थापित नेता दीपक गिरीलाई पराजित गर्दै संसदीय राजनीतिमा प्रवेश गरेका थिए ।
त्यसपछि २०५६ सालमा काँग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित भएका उनी २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बने ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेस नेता बुद्धिराम भण्डारीसँग पराजित पोखरेल २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बने ।
२०७९ सालको निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनसँग पराजित भएपछि यसपटक पुनः संसदमा फर्किनुपर्ने राजनीतिक दबाब उनीमाथि देखिन्छ ।
दाङ–२ मा पोखरेलसँग काँग्रेसका किरणकिशोर घिमिरे, नेकपाका निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन आचार्यबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । मनोनयन दर्तासँगै दाङ–२ को चुनावी माहोल थप गर्माएको छ।








